ललितपुर — ग्यास्ट्रिक ठूला मानिसलाई मात्रै हुने समस्या भन्ने आम बुझाइ गलत सावित हुँदै गएको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा पनि ग्यास्ट्रिक देखिन थालेको छ, जसको मुख्य कारण ‘एच प्योलोरी’ नामक किटाणुको सङ्क्रमण हो ।
कान्ति बाल अस्पतालका बाल पेटरोग विशेषज्ञ डा. सुमित अग्रवालका अनुसार यो किटाणु बच्चा सानै उमेरदेखि शरीरमा प्रवेश गर्न सक्छ । चिल्लोपिरो खानेकुरा, जङ्क फुडको बढी प्रयोग तथा पेनकिलर औषधि सेवनले बालबालिकामा ग्यास्ट्रिकको समस्या झन् बढाउने गरेको उहाँले बताउनुभयो ।
बालबालिकामा फरक लक्षण
बयस्कमा पेट दुख्ने, खाना नरुच्ने र मुखमा अमिलो पानी आउनेजस्ता लक्षण देखिएजस्तै बालबालिकामा पनि मुखबाट अमिलो पानी आउने, बिहान–साँझ पेट दुख्ने, खाना खाएपछि कहिले धेरै त कहिले कम दुख्ने, लगातार बान्ता आउने तथा पेट फुल्ने समस्या देखिने गर्छ ।
यी लक्षण लामो समयसम्म रहँदा बच्चाको खानपान घट्दै जान्छ र उपचार ढिला भएमा तौलसमेत घट्ने जोखिम हुन्छ ।
उपचार नगरे गम्भीर असर
समयमै उपचार नपाए ग्यास्ट्रिक गम्भीर बन्न सक्ने डा. अग्रवालको चेतावनी छ । पेटको दुखाइ अत्यधिक बढ्दा मुखबाट रगत आउन सक्ने, सानो आन्द्राको प्वाल खुम्चिने तथा आन्द्राको पहिलो भागमा अल्सर देखिन सक्ने उहाँले जानकारी दिनुभयो ।
कान्ति अस्पतालमा दैनिक दुई–तीन जना ग्यास्ट्रिकका बालबालिका उपचारका लागि आउने गरेका छन् भने हप्तामा एक–दुई जना रगत बान्ता गर्ने बिरामीसमेत आउने गरेका छन् ।
७५ प्रतिशतमा एच प्योलोरी सङ्क्रमण
हप्तामा तीनदेखि पाँच वटा इन्डोस्कोपी गर्दा करिब ७५ प्रतिशत बालबालिकामा ‘एच प्योलोरी’ किटाणुको सङ्क्रमण भेटिने गरेको डा. अग्रवालले बताउनुभयो । सामान्यतया शरीरमा आवश्यकभन्दा बढी एसिड उत्पादन हुनु नै ग्यास्ट्रिक हो ।
१८ महिनादेखि १४ वर्षसम्मका बालबालिकामा यो किटाणुको सङ्क्रमण देखिने गरेको र सानै उमेरदेखि शरीरमा रहे पनि सात–आठ वर्ष नाघेपछि मात्रै लक्षण प्रकट हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार ‘एच प्योलोरी’ विरुद्धको औषधि दुई हप्ता सेवन गरेपछि ग्यास्ट्रिक पूर्ण रूपमा निको हुन सक्छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया