ललितपुर – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत आईपीओ आवेदन भर्ने सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार अब ग्राहकहरूले आईपीओसम्बन्धी सम्पूर्ण प्रक्रिया बैंकको यही एप प्रयोग गरेर सजिलै पूरा गर्न सक्नेछन्।
एपको आईपीओ म्यानेजमेन्ट सेक्सनमार्फत डिम्याट नम्बर प्रविष्ट गरेपछि ग्राहकले सिआरएन नम्बर प्राप्त गर्ने व्यवस्था गरिएको छ। त्यसपछि कुनै कम्पनीको आईपीओ खुला भएको समयमा एपबाटै आवेदन दिन सकिनेछ। साथै, आईपीओ खुल्ने सूचना पनि प्रयोगकर्तालाई एपमार्फत नै जानकारी गराइने बैंकले जनाएको छ।
बैंकले यस सुविधाले आईपीओ आवेदनका लागि अन्य प्लेटफर्ममा निर्भर हुनुपर्ने झन्झट घटाउने, समयको बचत गर्ने र डिजिटल पहुँचलाई सहज बनाउने अपेक्षा गरेको छ।
लाइभ मार्केट अपडेट पनि एपमै
ग्लोबल स्मार्ट प्लस एपमा लाइभ मार्केट सुविधा समेत समावेश गरिएको छ। यस सुविधामार्फत प्रयोगकर्ताले दोस्रो बजारमा हुने सेयर कारोबारसम्बन्धी जानकारी रियल टाइममा हेर्न सक्नेछन् ।
लाइभ मार्केट फिचरअन्तर्गत नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, सेयर क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर सूची लगायतका महत्वपूर्ण सूचनाहरू उपलब्ध छन्। यसले लगानीकर्तालाई बजारको चाल बुझ्न र आफ्ना लगानीको मूल्याङ्कन गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।
ग्राहकले सेयरको खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी नाफा–घाटा र सेयरको हालको मूल्य रियल टाइममा ट्र्याक गर्न सक्नेछन् । क्यालकुलेटर सुविधाले सेयर खरिद–बिक्री गर्दा आवश्यक गणना गर्न सहयोग पुर्याउने जनाइएको छ ।
त्यसैगरी, वाचलिस्ट सुविधाबाट रोजिएका सेयरहरूको सूची बनाएर मूल्य परिवर्तन र बजार ट्रेन्डको निगरानी गर्न सकिनेछ भने स्टक कम्प्यारिजन फिचरले विभिन्न सेयरहरूको मूल्य प्रवृत्ति र सूचकहरूको आधारमा तुलनात्मक अध्ययन गर्न मद्दत गर्नेछ ।
बैंकले यी डिजिटल सुविधामार्फत ग्राहकलाई सुरक्षित, सहज र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत डिजिटल वित्तीय सेवामा नयाँ आयाम थप्दै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य बैंकको रहेको छ ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर’, ‘बेष्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेष्ट बैंक ईएसजी नेपाल’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका सम्मान प्राप्त गरिसकेको बैंक हो ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको यस बैंकका हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन् ।
त्यस्तै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुक तथा भारतलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया