२०८२ फाल्गुन ६ | Feb 18, 2026

पर्वतमा पाठेघर क्यान्सर रोकथामका लागि किशोरीहरूलाई खोप दिने तयारी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २२
|
408 views

ललितपुर – पर्वतमा पाठेघर क्यान्सर रोकथामका लागि किशोरीहरूलाई खोप दिने तयारी जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान मार्फत लगाइने भएको छ । जिल्लाका ६१ वटै वडाका १२७ विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई यस अभियानमा समावेश गरिने छ ।

खोप अभियान माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएकोले प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई खोप पूर्ण रूपमा सुरक्षित भएकाले निर्धक्क लगाउन आग्रह गर्नुभएको छ । अभियानअन्तर्गत निजी र सामुदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिनेछ ।

यस अवधिमा गत वर्ष छुटेका कक्षा ७–१० का छात्रा र विद्यालय नजाने ११–१४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने छ । अभियानका लागि १२७ स्वास्थ्यकर्मी १२७ स्वयंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभएको छ ।

मुख्य जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले खोप अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै, पाठेघरको मुखको क्यान्सरजस्ता घातक रोगप्रति सचेत रहन र कुनै किशोरी खोपबाट छुट्न नपरोस् भन्नेमा जोड दिनुभयो । उहाँले छुटेका किशोरीलाई थप एक हप्ताको समय दिइने जानकारी पनि दिनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले प्रचार-प्रसारलाई तीव्र बनाइएको र खोप पूर्ण रूपमा सुरक्षित भएकाले नकारात्मक धारणा नबनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका सातै पालिका र वडास्तरमा खोप अभियान सञ्चालनको तयारी भइरहेको छ । गत वर्ष जिल्लामा चार हजार ७४९ जनालाई एचपिभी खोप लगाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया