ललितपुर – संयुक्त राष्ट्रसङ्घ गम्भीर आर्थिक संकटको मुखमा पुगेको भन्दै महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूलाई समयमै योगदान नतिरे संगठन नै वित्तीय पतनतर्फ जान सक्ने चेतावनी दिनु भएको छ ।
सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै गुटेरेसले वार्षिक योगदान र संरचनात्मक कोष संकलनमा देखिएको ढिलाइले विश्व निकायको कार्यक्षमता कमजोर बन्दै गएको बताउनुभयो । वित्तीय नियममा तत्काल सुधार नगरे वास्तविक संकट सामना गर्नुपर्ने उहाँको भनाइ छ । अल जजिराका अनुसार उहाँले सम्बन्धित देशहरूलाई बक्यौता रकम तुरुन्त भुक्तानी गर्न पनि आग्रह गर्नुभएको छ ।
संस्थाको कमजोर आर्थिक अवस्थाबारे जानकारी दिँदै संयुक्त राष्ट्रका प्रवक्ता फरहान हकले अघिल्ला वर्षझैँ नियमित रूपमा काम गर्न आवश्यक नगद भण्डार र तरलता अहिले उपलब्ध नभएको स्पष्ट पार्नुभयो ।
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय संस्थाहरूलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने नीति अघि सारेकै समयमा आएको हो । ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका विभिन्न एजेन्सीहरूबाट फिर्ता हुने योजना सार्वजनिक गरिसकेको छ भने ‘बोर्ड अफ पिस’ नामक पहललाई समेत अघि बढाइरहेको बताइएको छ ।
हालको प्रणालीअनुसार संयुक्त राष्ट्रसङ्घको सदस्यता शुल्क देशको कुल घरेलु उत्पादन, ऋणको स्तर र आर्थिक क्षमताका आधारमा निर्धारण गरिन्छ । यसअनुसार संयुक्त राज्य अमेरिकाले मुख्य बजेटको २२ प्रतिशत र चीनले २० प्रतिशत योगदान गर्दै आएका छन् ।
गुटेरेसका अनुसार सन् २०२५ को अन्त्यसम्ममा संयुक्त राष्ट्रसङ्घले एक अर्ब ५७ करोड अमेरिकी डलर बराबरको भुक्तानी अझै पाउन बाँकी छ ।
सुधार अपरिहार्य भएको दोहोर्याउँदै उहाँले सदस्य राष्ट्रहरूले आफ्नो दायित्वअनुसार पूर्ण र समयमै भुक्तानी गर्नुपर्ने वा आसन्न आर्थिक संकट रोक्न विद्यमान वित्तीय नियमहरूमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
आर्थिक दबाबका बाबजुद संयुक्त राष्ट्रसङ्घले यसै महिनाको सुरुवातमा सन् २०२६ का लागि तीन अर्ब ४५ करोड अमेरिकी डलरको बजेट स्वीकृत गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले कम हो ।
सम्बोधन पत्रमा गुटेरेसले आगामी जुलाईसम्म संयुक्त राष्ट्रसङ्घको नगद भण्डार सकिन सक्ने गम्भीर चेतावनीसमेत दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको वेबसाइटमा प्रकाशित तथ्याङ्कअनुसार बिहीबारसम्म १९३ सदस्य राष्ट्रमध्ये केवल ३६ देशले मात्र सन् २०२६ का लागि आफ्नो नियमित योगदान पूर्ण रूपमा भुक्तानी गरेका छन्



















फेसबुकबाट तपाईको प्रतिक्रिया