२०८२ फाल्गुन ६ | Feb 18, 2026

होटल फरेष्ट इनको आईपीओ माघ २२ बाट खुल्दै, सर्वसाधारणका लागि ३३ लाख कित्ता शेयर

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १४
|
1.7k views

ललितपुर   होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा आम लगानीकर्तालाई अवसर दिन लागेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये विभिन्न समूहका लागि छुट्याइएको शेयर बाँडफाँटपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन हुन लागेको हो ।

आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आयोजना निर्माणमा करिब ३ अर्ब ४८ करोड रुपैयाँ लागत लागेको छ । साधारण लगानी फिर्ता हुने अवधि करिब १०.८६ वर्ष र डिस्काउण्टमा १५.३३ वर्ष रहेको विवरणमा उल्लेख छ ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया