ललितपुर – इरानले अर्धसैनिक रिभोलुसनरी गार्डलाई आतङ्कवादी समूहको रूपमा सूचीकृत गरेको भन्दै कडा असन्तुष्टि जनाउँदै सोमबार देशमा कार्यरत युरोपेली सङ्घ (इयु) का सबै राजदूतलाई विदेश मन्त्रालयमा बोलाएको छ । जनवरीमा इरानभर फैलिएको विरोध प्रदर्शन दमनमा रिभोलुसनरी गार्डको संलग्नता रहेको आरोप लगाउँदै इयुले गत साता उक्त समूहलाई आतङ्कवादी सूचीमा राखेको थियो ।
यसअघि अमेरिका र क्यानाडालगायत केही पश्चिमी राष्ट्रहरूले पनि रिभोलुसनरी गार्डलाई आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरिसकेका छन् । यो निर्णयलाई प्रतीकात्मक कदम मानिए पनि गार्डको इरानी अर्थतन्त्रमा गहिरो प्रभाव रहेकाले यसले इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ ।
शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र सम्भावित सामूहिक मृत्युदण्डको विषयलाई लिएर इरानले अमेरिकी सैन्य कारबाहीको जोखिमसमेत बेहोर्नु परिरहेको छ । यसै सन्दर्भमा अमेरिकी सेनाले युएसएस अब्राहम लिङ्कनसहितका निर्देशित मिसाइल विध्वंसक जहाजहरू मध्यपूर्व क्षेत्रमा तैनाथ गरिसकेको छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गर्ने वा नगर्ने विषयमा अझै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आइतबार पत्रकारहरूलाई इयुका राजदूतहरूलाई बोलाउने निर्णय गरिएको जानकारी दिनुभएको थियो । सन् १९७९ को इस्लामिक क्रान्तिपछि धर्मगुरुहरूको नेतृत्वमा स्थापित शासन प्रणालीको रक्षाका लागि गठन भएको रिभोलुसनरी गार्ड पछि संविधानमै समावेश गरिएको थियो ।
देशको नियमित सेनासँग समानान्तर रूपमा सञ्चालन हुँदै आएको यो बल सन् १९८० को दशकमा इराकसँग भएको लामो र विनाशकारी युद्धका क्रममा झनै शक्तिशाली बन्यो । युद्धपछिको चरणमा विघटनको सम्भावना देखिए पनि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गार्डलाई निजी क्षेत्र र व्यवसायमा प्रवेश गर्ने अनुमति दिएपछि यसको प्रभाव अझ विस्तार भयो ।
जनवरी ८ देखि सुरु भएको विरोध आन्दोलन दबाउन गार्डअन्तर्गतको बासिज बलले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । अधिकारीहरूले करिब आठ करोड ५० लाख जनसङ्ख्या भएको देशमा इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा अवरुद्ध गरेका थिए । स्टारलिङ्क स्याटेलाइट डिशलगायत माध्यमबाट बाहिर आएका भिडियोहरूमा गार्डका सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि गोली प्रहार र कुटपिट गरिरहेको दृश्य देखिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया