ललितपुर – विद्यार्थीहरूमा एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्किल्सअप र स्टिमपेडियाको सहकार्यमा यही माघ २६ गते ‘कोडभर ७.०’ नामक राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता काठमाडौंको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा सञ्चालन हुनेछ र यसमा देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजका करिब ५०० विद्यार्थी सहभागी हुनेछन्। सहभागी विद्यार्थीहरू ७–१८ वर्ष उमेर समूहका हुनेछन् र उनीहरूलाई इलिमेन्टरी, जुनियर र सिनियर गरी तीन वर्गमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताका प्रमुख ट्र्याकहरूमा इन्नोभेसन तथा उद्यमशीलता, एआई रोबो च्यालेन्ज, रोबो सकर र वेलनेस वेभ रहेका छन्। विद्यार्थीहरूले दिगो विकास लक्ष्यसँग मेल खाने सामाजिक आविष्कार, स्वास्थ्य प्रविधि, रोबोटिक चुनौती र रोबो फुटबलसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा फायर डिटेक्सन सिस्टम, सोलार ट्र्याकिङ सिस्टम, अटोमेटिक पेट फिडर, मेडिसिन रिमाइन्डर, वाटर क्वालिटी मोनिटरिङ, क्यालोरी ट्र्याकिङ सिस्टम, स्मार्ट स्ट्रिट लाइट, ब्लुटुथ कन्ट्रोल्ड डक्टर रोबोट, क्यु म्यानेजमेन्ट सिस्टम, वेदर मोनिटरिङ सिस्टम लगायत स्वास्थ्य, ऊर्जा, एआई, अटोमेसन, क्लाइमेट र इको–इनोभेसनसँग सम्बन्धित १०० भन्दा बढी परियोजनाहरू प्रदर्शनीमा राखिनेछन् ।
आयोजकको भनाइ अनुसार २,५०० भन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ । स्किल्सअपले प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा प्राविधिक दक्षता र उद्यमशील सोच विकास गर्नु, सिद्धान्त र अभ्यासबीचको दूरी घटाउनु र स्थानीय प्रतिभा पहिचान गर्नु रहेको बताएका छन् ।
प्रतियोगिताका विजेताहरूका लागि कुल १० लाख रुपैयाँ बराबरको पुरस्कारको व्यवस्था गरिएको छ। यसका साथै, शीर्ष २०–२५ टोलीले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
प्रतियोगिताअघि, स्किल्सअपले सहभागी विद्यार्थीहरूको तयारीका लागि विभिन्न विद्यालयहरूसँग सहकार्य गर्दै विशेष बुटक्याम्प तालिम पनि सञ्चालन गरेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया