
ललितपुर - जलवायु परिवर्तन, द्वन्द्व, असमानतालगायत कारणले बाल अधिकार सुरक्षा र संरक्षणमा चुनौती देखिएको छ । विश्व बाल दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) आफ्नो स्थापनाको ८० वर्ष प्रवेशको पूर्वसन्ध्यामा युनिसेफ नेपाल र नेपाल क्रिकेट सङ्घ र अष्ट्रेलियाली राजदूतावाससँगको सहकार्यमा आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कार्यक्रममा बाल अधिकारका चुनौतीबारे छलफल भएको हो ।
करिब एक हजार ५०० बालबालिकासहित करिब दुई हजार जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिकाको अधिकार, लैङ्गिक समानता र सकारात्मक सामाजिक परिवर्तनका लागि खेलकुदको महत्वलाई उजागर गरिएको छ ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले बालबालिका हाम्रा भविष्यमात्र नभई वर्तमानको पनि हिस्सा भएकाले उनीहरूको आवाज महत्त्वपूर्ण हुने बताउनुभयो । वयस्कका रूपमा हाम्रो जिम्मेवारी भनेको बालबालिकाका तर्फबाट बोल्नुमात्र होइन, बरु तिमीहरूको कुरा सुन्नु, उनीहरूलाई आफ्ना कुरा आफैँ राख्न सक्ने वातावरण सिर्जना गर्नु र उनीहरूको आवाज सुनिएको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले प्रत्येक बालबालिकाको अधिकार तथा भविष्यको रक्षाका लागि पुन: प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको अधिकारको पक्षमा वकालत गर्ने र सरकार, समुदाय तथा परिवारहरूलाई यो कुरा सम्झाउने अवसर हो कि प्रत्येक बालबालिकाले सिक्ने, खेल्ने, सहभागी हुने र आफ्नो पूर्ण क्षमता विकास गर्ने अवसर पाउनुपर्ने बताउनुभयो ।
युनिसेफ नेपालकी युवा पैरवीकर्ता स्वर्णिमा कँडेलले प्रत्येक बालबालिकाको आफ्नो भविष्यबारे सपना देख्ने र त्यो सपना पूरा गर्न उचित अवसर पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले तल्लो तहदेखि क्रिकेटमा लगानीका साथै विद्यालयस्तरको क्रिकेटलाई सुदृढ बनाउन आग्रह गर्दै उमेर समूहका प्रतियोगिताहरू विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्षको विश्व बाल दिवसको नारा ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ रहेको छ ।



बिजनेस पाटी














