
ललितपुर - एकाघरका केही दाजुभाइ फरक फरक पार्टीबाट विभिन्न पदमा पुग्ने र नेतृत्व गर्ने अवसर पाएका उदाहरणहरू त प्रशस्तै भेटिन्छन् तर एकाघरका तीन दाजुभाइ जीवितमै एउटै पार्टीको विभिन्न जिम्मेवारी र केन्द्रीय नेतृत्वमा पुगेको उदाहरण भने सायदै पाइन्छ । सम्भवतः यो नै पहिलो उदाहरण हो जुन दाङका तीन दाजुभाइ जेठो कृष्ण किशोर घिमिरे साइँलो किरणकिशोर घिमिरे र कान्छो कमलकिशोर घिमिरे ले प्रस्तुत गरेका छन् ।
जयतु संस्कृतम् आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका यी छोराहरू मध्य जेठो कृष्णकिशोर घिमिरे २०५६ सालको निर्वाचनमा दाङबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसै गरी उनी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै साइँलो किरणकिशोर घिमिरे गत आम निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए । १५ औ महाधिवेशनमा किरणकिशोर दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन हुँदै खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेर निर्वाचित भएका हुन् । २०४६ को जनआन्दोलन पश्चात् मजदुर को हकहितका लागि ट्रेड युनियन आन्दोलनमा सक्रिय किरणकिशोरको उदयलाई अबको दाङको अब्बल नेताका रूपमा हेरिएको छ । उनले आफ्नै लगानीमा कृषि, प्राविधिक शिक्षा र स्वास्थ्यका क्षेत्रमार्फत सेवा र अवसर प्रदान गर्दै आएका छन् ।
यस्तै कान्छा कमलकिशोर घिमिरे यस अघि काँग्रेसका प्रदेश सभाका उम्मेदवार थिए । दाङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनी लुम्बिनी प्रदेशबाट सर्वाधिक मत ल्याएर भूगोलतर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । काँग्रेस वृत्तमा यिनी हक्की तर कुशल संगठकका रूपमा परिचित छन् । आफ्नो जिल्लामा यी तिन भाइलाई कुनै मान्छे सँगको एक भेटमै उसको सात पुस्ताको परिचय दिन सक्ने अनि भूगोल समेत बताउन सक्ने नेताका रूपमा लिइन्छ ।



बिजनेस पाटी













