२०८२ चैत्र १५ | Mar 29, 2026

चर्किँदो द्वन्द्व: मध्यपूर्वमा तनाव उत्कर्षमा

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १५
|
306 views

मध्यपूर्वमा जारी युद्धले आइतबार नयाँ उचाइ लिँदै विभिन्न देशहरूमा सैन्य गतिविधि, आक्रमण र कूटनीतिक पहलहरू तीव्र बनेका छन् । इरान, इजरायल र अमेरिकाबीचको तनाव विस्तार हुँदै जाँदा क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको देखिएको छ ।

आइतबार इरानले आफ्नै भूभागमा थप आक्रमणको सामना गर्नुपरेको छ । अमेरिका–इजरायल संयुक्त आक्रमणले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नजिक रहेको बन्दर खमीर बन्दरगाह सहरमा प्रहार गर्दा पाँच जनाको मृत्यु भएको इरानी राज्य मिडियाले जनाएको छ भने चार जना घाइते भएका छन् । यसैबीच, राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । विशेषगरी उत्तरी तेहरान क्षेत्रमा धुवाँ उठेको देखिएको छ, जसले आक्रमणको प्रभाव व्यापक रहेको सकेत गर्दछ ।

यसको जवाफस्वरूप इरानले पनि क्षेत्रीय स्तरमा आक्रमण तीव्र पारेको जनाएको छ । इरानको रिभोलुसनरी गार्ड्सले संयुक्त अरब इमिरेट्स र बहराइनका एल्युमिनियम उद्योगहरूमा मिसाइल तथा ड्रोन प्रहार गरेको दाबी गरेको छ । ती उद्योगहरूलाई अमेरिकी सैन्य तथा एयरोस्पेससँग जोडिएको संरचना भन्दै लक्ष्य बनाइएको बताइएको छ ।

यसैक्रममा, इजरायल–लेबनान सीमामा पनि हिंसा जारी छ । इजरायली सेनाले दक्षिण लेबनानमा थप एक सैनिकको ज्यान गएको पुष्टि गरेको छ । मार्च २ देखि हिज्बुल्लाहले इजरायलतर्फ रकेट आक्रमण सुरु गरेपछि यो पाँचौँ सैन्य मृत्यु भएको हो । मृत्यु हुने सैनिक २२ वर्षीय सार्जन्ट मोशे यिट्जचाक हाकोहेन काट्ज रहेका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि सम्भावित स्थलगत कारबाहीको तयारी गरिरहेको समाचार बाहिरिएको छ । वासिङ्टन पोस्टका अनुसार खारग टापु र स्ट्रेट अफ होर्मुज आसपासका क्षेत्रमा सीमित स्तरका सैन्य अपरेसन गर्ने योजना बनाइँदैछ, यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक स्वीकृति दिनुभएको छैन । सम्भावित कारबाही पूर्ण युद्ध नभई विशेष फौज र पैदल सेनामार्फत लक्षित छापा अभियान हुने बताइएको छ ।

कुवेतले पनि आफ्नो सुरक्षालाई ध्यानमा राख्दै वायु रक्षा प्रणाली सक्रिय बनाएको जनाएको छ । त्यहाँका सशस्त्र बलले मिसाइल र ड्रोन आक्रमणको सम्भावित खतरा निष्क्रिय पारिएको र विस्फोटका आवाजहरू त्यसैको परिणाम भएको स्पष्ट पारेका छन् ।

यसैबीच, इरानले मध्यपूर्वस्थित अमेरिकी विश्वविद्यालयहरूलाई समेत चेतावनी दिएको छ । अमेरिका–इजरायल आक्रमणमा आफ्ना दुई विश्वविद्यालय ध्वस्त भएको आरोप लगाउँदै ती घटनाको सार्वजनिक निन्दा नगरे लक्ष्य बनाइने चेतावनी दिइएको छ ।

तनाव कम गर्न कूटनीतिक प्रयास पनि अघि बढिरहेका छन् । पाकिस्तानले इस्लामाबादमा साउदी अरेबिया, इजिप्ट र टर्कीका विदेश मन्त्रीहरूलाई आमन्त्रण गरी क्षेत्रीय स्थिरताबारे छलफल गर्ने तयारी गरेको छ । पाकिस्तानले इरान र अमेरिकाबीच सन्देश आदानप्रदानमा मध्यस्थ भूमिका खेलिरहेको बताइएको छ ।

युद्धमा नयाँ मोर्चा थपिँदै यमनका हुथी विद्रोहीहरू पनि सक्रिय भएका छन् । इरान समर्थित उक्त समूहले इजरायलमाथि दुईवटा मिसाइल प्रहार गरेको दाबी गरेको छ । यसअघि उनीहरूले आक्रमण जारी रहेमा युद्धमा सहभागी हुने चेतावनी दिएका थिए ।

इजरायलभित्रै पनि युद्धविरुद्ध असन्तुष्टि बढ्दै गएको देखिएको छ । तेल अभिवसहित विभिन्न सहरमा सयौँ नागरिकले प्रदर्शन गरेका छन् । सुरक्षा बलले ती प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरेको छ, यद्यपि सहभागिता क्रमशः बढ्दै गएको जनाइएको छ ।

अर्कोतर्फ, अमेरिकाले इराकी कुर्दिस्तानका नेता नेचिरवान बर्जानीको निवासमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ । उक्त घटनामा इरान समर्थित मिलिशियाहरूको संलग्नता रहेको आरोप लगाइएको छ ।

यसैबीच, इजरायलको मध्य भागस्थित एस्ताओल गाउँमा इरानी मिसाइल प्रहार हुँदा ११ जना घाइते भएका छन् । उक्त आक्रमणले आवासीय क्षेत्रमा ठूलो खाडल बनाएको छ । यसअघि पनि सोही क्षेत्रमा भएको अर्को आक्रमणमा नौ जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया