२०८२ फाल्गुन ६ | Feb 18, 2026

निर्वाचन तयारीका लागि १९ अर्बभन्दा बढी बजेट सुनिश्चित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
1.5k views

ललितपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, सुरक्षित र विश्वासयोग्य बनाउन सरकारले आवश्यक बजेटको व्यवस्था अगावै गरेको छ। अर्थ मन्त्रालयले निर्वाचन व्यवस्थापन तथा सुरक्षा प्रयोजनका लागि कुल १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको जनाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्वाचनसँग सम्बन्धित खर्चका लागि बजेट सुनिश्चितता गरिएको हो। सुनिश्चित रकममध्ये गृह मन्त्रालयका लागि सबैभन्दा बढी १० अर्ब ३९ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै, रक्षा मन्त्रालयले १ अर्ब ९९ करोड रुपैयाँ पाउनेछ भने निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ व्यवस्था गरिएको छ।

प्रवक्ता पाण्डेयले स्रोत सुनिश्चितता गरिएको रकम एकैपटक निकासा नहुने स्पष्ट पारे। खर्चको आवश्यकता र कामको प्रगतिका आधारमा चरणबद्ध रूपमा बजेट निकासा गरिने उनले जानकारी दिए। हाल बजेटको स्रोत सुनिश्चितता मात्र गरिएको र वास्तविक खर्च अनुसार भुक्तानी प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालयको भनाइ छ।
निर्वाचन आयोगले प्राप्त बजेट निर्वाचन सञ्चालन, मतदाता शिक्षा कार्यक्रम, मतपत्र छपाइ, मतदान केन्द्र व्यवस्थापन, कर्मचारी खटनपटन, अनुगमन तथा भ्रमण भत्ता लगायतका काममा प्रयोग गर्नेछ। आयोगले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधि र व्यवस्थापन पक्षमा समेत ध्यान दिने बताइएको छ।

यता गृह मन्त्रालय र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षालाई केन्द्रमा राखेर बजेट खर्च गर्नेछन्। सुरक्षा मापदण्डअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन, निर्वाचन प्रहरीको व्यवस्थापन, पोसाक, भत्ता, यातायात तथा अन्य प्रशासनिक खर्चमा बजेट प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार निर्वाचनको समग्र व्यवस्थापन सहज बनाउन र समयमा कुनै पनि आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले अग्रिम रूपमा स्रोत सुनिश्चित गरिएको हो। प्रवक्ता पाण्डेयले निर्वाचनलाई समयमै, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक सबै आर्थिक व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया