२०८२ फाल्गुन ६ | Feb 18, 2026

पाँच दशकपछि नासाको मानवसहितको चन्द्र यात्रा तयारी अन्तिम चरणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
1.1k views

ललितपुर – पाँच दशकपछि पहिलो पटक मानवसहित चन्द्रमातर्फ जाने नासाको ऐतिहासिक मिशन तयारीको अन्तिम चरणमा पुगेको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा शनिबार नासाले दुईदिने अभ्यासात्मक काउन्टडाउन सुरु गरेको छ । यसले नयाँ ‘स्पेस लञ्च सिस्टम’ रकेटमा इन्धन भर्ने प्रक्रिया परीक्षण गर्नेछ ।

यदि परीक्षण सफल भयो भने, चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाएर पृथ्वी फर्काउने मिशनको प्रक्षेपण मिति निश्चय हुनेछ । कमाण्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका टोली हाल क्वारेन्टिनमा छन् र टेक्सासको ह्युस्टनबाट अभ्यास निगरानी गरिरहेका छन् ।

तीन सय २२ फिट अग्लो रकेट दुई साताअघि प्रक्षेपण स्थलमा सारिएको थियो । परीक्षण सफल भएमा नासाले एक साताभित्रै प्रक्षेपण तयारी पूरा गर्न सक्ने जनाएको छ । यस क्रममा सात लाख ग्यालोनभन्दा बढी अत्यन्त चिसो इन्धन रकेटमा भरिनेछ र इन्जिन प्रज्वलन हुनु अघिसम्म परीक्षण रोकिनेछ ।

मिशनको ‘ओरियन’ क्याप्सुलमा अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू सवार हुनेछन्। उनीहरू चन्द्रको वरिपरि घुमेर बिना अवतरण पृथ्वी फर्किनेछन्। करिब १० दिन लामो यो यात्रा प्रशान्त महासागरमा स्प्ल्यासडाउन हुँदै सम्पन्न हुनेछ ।

सन् १९६८–१९७२ सम्म अपोलो कार्यक्रमअन्तर्गत नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया