२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल–चीन केन्द्रीय बैंकबीच सहकार्यमा छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
1.1k views

ललितपुर । चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ। चीनको थियानचिनमा आयोजित ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’को एसिया प्यासिफिक उच्चस्तरीय बैठकका क्रममा उनीहरूबीच भेट भएको हो।

भेटमा नेपाल र चीनका दुई केन्द्रीय बैंकबीच सहकार्य र समन्वयका विषयमा छलफल भएको गभर्नर पौडेलको सचिवालयले जनाएको छ। सीमापार भुक्तानी, लगानी, वित्तीय प्रविधि, नवप्रवर्तन तथा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहज र कम लागतमा सञ्चालन गर्ने विषयमा पनि कुराकानी भएको थियो।

त्यस अवसरमा पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी प्रणालीको आधुनिकीकरण र आपसी सहकार्यका लागि चीन तयार रहेको बताए। गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच निरन्तर समन्वय र संवाद आवश्यक रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक त्यसका लागि प्रतिबद्ध रहेको बताए।

भेटमा पिबिओसीका अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु, राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र सहायक निर्देशक रोशन न्यौपानेलगायतको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया