ललितपुर । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । सरकार र दलहरू निर्वाचनको तयारीमा छन् । यस पटकको निर्वाचनमा भने अघिल्ला निर्वाचनको अभ्यास भन्दा फरक अभ्यास गरेर निर्वाचनमा उत्रँदै छन् । त्यो हो भावी प्रधानमन्त्रीको घोषणा गरेर मैदानमा उत्रने तयारी ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा भावी प्रधानमन्त्रीका आकाङ्क्षी हुन् । शेखर पक्षीय मानिने काँग्रेस नेता डा.सुनील शर्मा आज एक कार्यक्रममा बोल्दै गगन नै भावी प्रधानमन्त्रीको उम्मेदवार रहेको बताएका छन् । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने घोषणा सबैभन्दा पहिले गरेको हो । बालेन चुनावपछि प्रधानमन्त्री बन्ने सहमतिमा रास्वपामा प्रवेश गरेका हुन् ।
बालेनले प्रतिनिधिसभा चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवारी दिँदै छन् । ओली आफै एमालेका तर्फबाट भावी प्रधानमन्त्रीका आकाङ्क्षी हुन् । श्रम र संस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफूले आफैँलाई भावी प्रधानमन्त्री घोषणा गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहित त्यस दलका अन्य नेताहरू माधव कुमार नेपाल झलनाथ खनाल तथा उज्याले नेपाल पार्टीका
संयोजक कुलमान पनि संसदीय गणित आफू अनुकूल भएमा प्रधानमन्त्रीका दाबेदार हुन् ।
तर प्रधानमन्त्री हुन पहिले निर्वाचन जित्नु पर्यो अनि बहुमत वा आफ्नो पक्षका संसदीय अङ्क गणित पुग्नु पर्यो त्यो भने कसले पुराउँछ निर्वाचन पछि मात्र थाहा हुने छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया