२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
714 views

ललितपुर — राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा दिउँसो १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको हो । अपराह्न ३ः०० बजेसम्म मतदान सञ्चालन हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको छ ।

रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशको खस–आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ। कोसी प्रदेशको खस–आर्यतर्फ नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आयोगका अनुसार कोसी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुर उपमहानगरपालिका–४ स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान भइरहेको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा पोखरा कास्कीस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराही दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान चलिरहेको आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने निर्वाचक मण्डलको व्यवस्था गरिएको छ। कूल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया