चोरीका सामान र नगदसहित चार जना पक्राउ

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २३
|
408 views

ललितपुर - प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया, गुलरिया नगरपालिका–५ ज्योतिनगरका २१ वर्षीय समीर विक, सोही ठाउँका २३ वर्षीय सुवास विक, नुवाकोट, बेलकोटगढी नगरपालिका–७ का २८ वर्षीय रमेश सदाशङ्कर तथा बर्दिया, बाँसगढी नगरपालिका–७ का २३ वर्षीय सन्देश श्रीपाली रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आइतबार दिउँसो करिब १ः३० बजेको समयमा कीर्तिपुर नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरिराखेको बा२९प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाइ पक्राउ गरेको हो ।’

पक्राउ परेकाहरुका साथबाट प्रहरीले नगद रु ५६ हजार, तामाको धातुबाट बनेको जस्तो देखिने मूर्ति ४० थान, चुरोट १५ बन्डल (१ बन्डलमा १० प्याकेट), एनोरेड मोबाइल छ थान, किप्याड मोबाइल चार थान, सुनको जस्तो देखिने कानको झुम्का एक जोर, सुनको जस्तो देखिने रातो पोतेसहितको नेकलेश, शिरबन्दी दुई थान, चाँदीको जस्तो देखिने पाउजु एक जोर, प्रदेश ३ –०२–००७ प ९३८६ नंको र बा२५प ६८७० नम्बरको मोटरसाइकल तथा हेलमेट १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो