२०८२ फाल्गुन ६ | Feb 18, 2026

बिमा रकम अड्किँदा प्रदेश अस्पताल पर्वत सेवा सङ्कुचनको जोखिममा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
714 views

ललितपुर – स्वास्थ्य बिमाबापतको भुक्तानी लामो समयदेखि नपाउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल गम्भीर आर्थिक दबाबमा परेको छ । बिमा गरेका बिरामीको उपचार गरेबापत पाउनुपर्ने रु तीन करोडभन्दा बढी रकम अझै अस्पतालले प्राप्त गर्न सकेको छैन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डीराज पौडेलका अनुसार गत आर्थिक वर्षदेखि स्वास्थ्य बिमा तथा डायलायसिस सेवाबापतको रकम भुक्तानी नहुँदा अस्पतालका नियमित सेवा र व्यवस्थापन प्रत्यक्ष प्रभावित बनेका छन् । सरकारले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा बक्यौता रकम क्रमशः बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपचार गरिएका बिरामीको परीक्षण, औषधि तथा सेवाको खर्च सरकारले अस्पताललाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर भुक्तानीमा निरन्तर ढिलाइ हुँदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलब–भत्ता वितरण र अन्य प्रशासनिक काममा समस्या उत्पन्न भएको डा पौडेलले बताउनुभयो । पटकपटक सम्बन्धित निकायमा माग गर्दा पनि हालसम्म ठोस सुनुवाइ नभएको उहाँको गुनासो छ ।

स्वास्थ्य बिमा गरेका सेवाग्राही सामान्य समस्या लिएर पनि अस्पताल आउने गरेको र उनीहरूलाई सेवा दिनैपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भुक्तानी नआउँदा औषधि, प्रयोगशाला सेवा र आवश्यक सामग्री व्यवस्थापन गर्न कठिन भइरहेको छ ।” हालसम्म अस्पताल व्यवस्थापन समितिको कोषबाट जेनतेन काम चलाइए पनि अब सेवा नै प्रभावित हुने अवस्था देखिन थालेको उहाँको भनाइ छ ।

जिल्लामा स्वास्थ्य बिमामा आबद्ध झन्डै ४५ प्रतिशत नागरिकले यही अस्पतालबाट सेवा लिँदै आएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले सरकारले तोकेको दररेटअनुसार रकम पाउनुपर्ने भए पनि हरेक वर्ष भुक्तानीमा समस्या झेल्नुपरेको बताउनुभयो । स्वास्थ्य बिमा बोर्डमार्फत मन्त्रालयमा बिल पेस गरिए पनि समयमै रकम नआउँदा अस्पताल आर्थिक सङ्कटतर्फ धकेलिएको उहाँको भनाइ छ ।

स्वास्थ्य बिमा योजनाअनुसार एक परिवारले वार्षिक रु तीन हजार ५०० प्रिमियम तिरेमा पाँच जनासम्मका लागि रु एक लाख बराबरको उपचार सुविधा पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य रु ७०० थप योगदान बुझाउनुपर्ने र उपचार सुविधा अधिकतम रु दुई लाखसम्म उपलब्ध हुने प्रावधान छ ।

केही दिनअघि अस्पताल निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसमक्ष बिमा रकम भुक्तानीका लागि ज्ञापनपत्र बुझाइएको थियो । सो क्रममा मन्त्री गौतमले देशभरका अस्पतालहरू बिमाबापतको रकम नपाएर समस्यामा परेको स्वीकार गर्दै वैकल्पिक स्रोत खोजी गरी बजेट व्यवस्थापन गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया