२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रपति पौडेलद्वारा जापानी व्यवसायीलाई नेपालमा लगानी आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
765 views

ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापार गर्न आह्वान गर्नुभएको छ । जापानमा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उहाँले नेपाल सरकार वैदेशिक लगानी र व्यापारलाई पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहन्छ भन्नुभयो । हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहित स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ । नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ ।

उहाँले कृषि, जलस्रोत, पर्यटन, उत्पादन, सेवा, सूचना प्रविधि र खानी क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै जापानी व्यवसायीलाई नेपालको सामाजिक–आर्थिक विकासमा सहभागी हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको राजनीतिक स्थिरता, सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित प्रयास र उदार आर्थिक नीतिहरूलाई लगानीमैत्री वातावरणको आधार भएको बताउनुभयो । यसअन्तर्गत कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गर्दै नेपाल लगभग सबै क्षेत्र विदेशी लगानीका लागि खुला गरेको छ ।

उहाँले नेपालको भौगोलिक अवस्थिति भारत र चीनको बीचमा रहेकोले सम्भावित लगानीकर्ताहरूलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गाना उपस्थित हुनुहुन्थ्यो। जापानी व्यापारिक समुदायले नेपालमा लगानीका अवसरहरूबारे जानकारी पाउँदा उत्साहित भएको र लगानीको ढोका खुल्ने विश्वास व्यक्त गरेको बताइएको छ ।

राष्ट्रपति पौडेलले नेपाली–जापानी सम्बन्धलाई सांस्कृतिक, कूटनीतिक र आर्थिक रूपमा अझ प्रगाढ बनाउने लक्ष्यमा जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया