ललितपुर – पोखरा–३१ मोहरीया निवासी डा. रमिल अधिकारीले आफ्नो छोरा अंश अधिकारीको जन्मदिनको अवसरमा पोखरा–२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि आर्थिक सहयोग प्रदान गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा सोमबार डा. अधिकारीले विद्यालयलाई ११ हजार १११ रुपैयाँ प्रदान गर्नु भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
विदेशमा बसेर पनि सांस्कृतिक, सामाजिक तथा मानविय क्षेत्रमा योगदान गर्दै आउनु भएका डा. अधिकारीले भने, “आफूले गरेको सानो सहयोगले विद्यार्थीहरूलाई पढाइमा हौसला मिल्नेछ र समग्र शैक्षिक क्रियाकलापमा टेवा पुग्नेछ।” विद्यालयमा विद्यार्थीलाई ३० रुपैयाँमा खाना खुवाइने समाचारले प्रेरित भएर आफूले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुको सट्टा यस्ता पवित्र कार्यमा सहयोग गर्दा आनन्द र प्रभावकारिता बढी हुने बताउनुभयो । साथै, युवा पुस्तालाई सकारात्मक सोचमा परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक पौडेलले सहयोग रकम ग्रहण गर्दै विद्यार्थीहरूको हितमा योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो र सानो बाबु अंशको सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभयो । मादी भगवती एल फर्मका सञ्चालक एवं पूर्व विद्यार्थी बुद्धिप्रसाद सुवेदीले पनि सामुदायिक विद्यालय सबैको साझा चौतारी भएको अनुभव व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले विदेशमा रहेर पनि मातृभूमि र विद्यालयप्रति माया देखाउने डा. अधिकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम शिक्षक ऋषिराम रानाभाटले सञ्चालन गर्नुभयो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया