२०८२ फाल्गुन ६ | Feb 18, 2026

रेडक्रसले राजनीतिबाट टाढा रही निष्पक्ष सेवा दिनुपर्छः गृहमन्त्री अर्याल

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
663 views

ललितपुर — गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले कुनै पनि राजनीतिक प्रभावबाट मुक्त भई आफ्नो मानवीय दायित्व निष्पक्ष रूपमा पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज गृह मन्त्रालयमा आयोजित छलफलका क्रममा गृहमन्त्री अर्यालले रेडक्रसको केन्द्रीय तहमा लामो समयदेखि देखिँदै आएका संस्थागत समस्या कानुन, विधि र प्रक्रिया अनुसार समाधान गर्न स्पष्ट निर्देशन दिनुभयो ।

उहाँले तदर्थ समितिलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न, निर्धारित अवधिभित्र निर्वाचन सम्पन्न गर्न र संस्थाको विधान सङ्घीय संरचनाअनुसार संशोधन गर्न आग्रह गर्नुभयो । साथै, रेडक्रसलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा अलग राखी सेवामुखी र निष्पक्ष संस्थाका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री अर्यालले संस्थाको मूल मानवीय उद्देश्यबाट विचलित नहुनुका साथै सरकारको सहयोगी निकायका रूपमा गृह मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।

छलफलमा गृह सचिव राजकुमार श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्याल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा दुवै मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो । नेपाल रेडक्रस सोसाइटीका तर्फबाट तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्मा, महासचिव मीनबहादुर मल्ललगायत प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया