ललितपुर । २०७९ माघ २ मा शारदा नगरपालिकाले सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बसपार्क क्षेत्रमा रहेका अव्यवस्थित घर–टहरा हटाउँदै सुधारको यात्रा सुरु गरेको थियो । सुरुवातमै यो कदमले व्यापक चर्चा पायो-कसैले आवश्यक सुधार भने, कसैले योजना अलपत्र पर्ने चिन्ता व्यक्त गरे ।
तर समयसँगै परियोजनाले गति लियो। बीचमा बजेट अभावका कारण काम सुस्त भए पनि जनप्रतिनिधिको सक्रियता, संघीय र प्रदेश सरकारको सहयोग तथा स्थानीयको साथले निर्माण कार्य अघि बढ्दै गयो। अहिले श्रीनगर बसपार्क आधुनिक, व्यवस्थित र सुविधा सम्पन्न पूर्वाधारका रूपमा स्थापित भएको छ ।
स्थानीय सुशील रावतका अनुसार पहिले बसपार्क अव्यवस्थित हुँदा सडकमै पार्किङ गर्नुपर्ने अवस्था थियो, जसले बजारको सौन्दर्य र व्यापार दुवैमा असर पारेको थियो। अहिले भने संरचना व्यवस्थित बनेपछि ती समस्या हटेका छन् ।
पहिले हिउँदमा धुलो र बर्खामा हिलोको समस्या झेल्नुपर्थ्यो भने पार्किङ अभावले जाम र दुर्घटनासमेत हुने गर्थ्यो। अहिले बसपार्क निर्माणसँगै ती समस्या समाधान हुँदै गएको सल्यान–रुकुम यातायात प्रालिका इञ्चार्ज नवीन वली बताउँछन् ।
बसपार्क क्षेत्रमा दुई वटा ३४ कोठे व्यापारिक भवन, ३५ स्टल र ३४ सटरसहित विभिन्न संरचना निर्माण गरिएको छ । संघीय सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा ५ करोड ६० लाख रुपैयाँ लागतमा यो परियोजना सम्पन्न गरिएको हो ।
बसपार्क सञ्चालनको जिम्मा ठेक्का प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई दिइएको छ, जसले नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउनेछ ।
नगर प्रमुख प्रकाश भण्डारीका अनुसार अवैध संरचना हटाउने निर्णय नगरपालिकाका लागि ऐतिहासिक क्षण थियो । पटकपटक सूचना जारी गर्दा पनि नहटेपछि अन्ततः डोजर प्रयोग गर्नुपरेको उनले बताए ।
उनका अनुसार सुरुमा परियोजना पूरा हुन्छ कि हुँदैन भन्ने आशंका थियो, तर विभिन्न निकायसँग सहकार्य गर्दै काम सम्पन्न गरिएको हो । अहिले यो बसपार्क जिल्लाकै उदाहरणीय पूर्वाधार बनेको र आम्दानीको स्रोतसमेत भएको उनले बताए ।
बसपार्क सञ्चालनमा आएसँगै श्रीनगर बजारको अव्यवस्थित पार्किङ समस्या समाधान हुँदै गएको छ । यसले शहरी व्यवस्थापन सुधार्नुका साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
डोजरको आवाजबाट सुरु भएको यो यात्रा आज आधुनिक पूर्वाधार, सहज यातायात र आर्थिक सम्भावनाको प्रतीक बनेको छ । श्रीनगर बसपार्क अब केवल यात्रु चढ्ने–ओर्लिने स्थान मात्र नभई सल्यानको विकासको संकेतका रूपमा स्थापित भएको छ ।





















फेसबुकबाट तपाईको प्रतिक्रिया