
ललितपुर - सोमवार नेप्से परिसूचक २.२६ अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । गत शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ३६० स्टकको ४२ हजार ८५४ पटकको कारोबारमा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ ।
मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रोको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ८.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ ।



बिजनेस पाटी















