ललितपुर – तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ। ऋषिङ गाउँपालिका–१ मा रहेको यस आयोजनामा तीनवटै प्याकेजअन्तर्गतका काम एकसाथ अगाडि बढाइएका छन् ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँध तथा हेडवर्क्स संरचनाको काम भइरहेको छ, प्याकेज–२ मा मुख्य सुरुङ, विद्युत्गृह र उपकरण जडानको काम जारी छ भने प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।
प्याकेज–१ को काम सोङ्दा कालिका जेभीले गरिरहेको छ, जसमा हालसम्म ४७ प्रतिशत प्रगति भएको छ । यस प्याकेजअन्तर्गत डाँडा कटान, पहुँच सडक, सेती नदीको धार परिवर्तन, अस्थायी बाँध तथा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो भने २०८१ जेठमा अस्थायी बाँध निर्माण पूरा भएको छ । हाल १४० मिटर अग्लो मुख्य बाँधको कङ्क्रिटिङ, ग्राउटिङ र कोर ड्रिलिङको काम जारी छ ।
प्याकेज–२ अन्तर्गतको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । भूमिगत संरचना खन्ने कार्य सकिएको छ र विद्युत्गृह, सर्च ट्याङ्क, केवल सुरुङ तथा टेलरेसजस्ता संरचनाको मुख्य सिभिल काम पूरा भइसकेको छ। यस प्याकेजको समग्र प्रगति ७२.५ प्रतिशत पुगेको छ । हाल इलेक्ट्रोमेकानिकल कार्य, छाना जडान र पानी निकाससम्बन्धी काम भइरहेका छन् ।
त्यसैगरी प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेशनल लिमिटेड (भारत) ले दमौली–भरतपुर ३३ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ। ९४ टावरमध्ये ७८ वटाको जग हाल्ने काम सम्पन्न भइसकेको छ र यस प्याकेजको प्रगति ७४.५ प्रतिशत रहेको छ। वन क्षेत्र प्रयोग र रुख कटानका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको छ ।
आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण र निर्माण अवधिको ब्याजसहित) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसमध्ये एडीबीले १५ करोड, जाइका १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया