२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रतिनिधिसभा निर्वाचन: योग्यता नपुगेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ७
|
1.4k views

ललितपुर – मनोनयन पत्र दर्ता गरी उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि तोकिएको छ ।

मंगलबार १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, उजुरी दिने प्रक्रिया प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम हुनेछ ।

निर्वाचन अधिकृतले उजुरी दर्ता भएपछि अनुसूची १७ र १८ अनुसार दर्ता किताबमा अंकन गरी उजुरी कर्तालाई जानकारी दिनुपर्नेछ। उजुरीको विवरण म्याद सकिएपछि अनुसूची १९ अनुसार कार्यालयमा प्रकाशन हुनेछ र उजुरी परेको उम्मेदवारले तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ ।

आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरीको जाँचबुझ एवं निर्णय हुनेछ । माघ ८ गते ५–७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने माघ ९ गते १०–१ बजे उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। अन्तिम नामावली माघ ९ गते १–३ बजे प्रकाशित हुनेछ र सोही दिन ४–७ बजे उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम तय छ ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी जम्मा ३४८६ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया