ललितपुर – शरीर स्वस्थ राख्न भिटामिन डी अत्यन्त आवश्यक मानिन्छ । मुख्यतः सूर्यको प्रकाशबाट प्राप्त हुने यो भिटामिनको कमी हुँदा शरीरमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्ने चिकित्सकहरूले बताएका छन् । आधुनिक जीवनशैलीका कारण धेरै मानिस पर्याप्त घाममा ननिस्कँदा भिटामिन डीको अभाव बढ्दै गएको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा. कल्याण सापकोटाका अनुसार भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिमा देखिन सक्छ । ‘सनसाइन भिटामिन’का रूपमा चिनिने भिटामिन डी वास्तवमा हर्मोन पनि हो ।
“छालामा घाम पर्दा शरीरले भिटामिन डी उत्पादन गर्छ, तर हाल धेरै व्यक्तिमा यसको मात्रा न्यून देखिएको छ,” डा. सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार नवजातदेखि १२ महिनासम्मका बच्चालाई दैनिक ४०० युनिट र वयस्कलाई दैनिक १००० युनिट भिटामिन डी आवश्यक पर्छ । अस्पतालमा भिटामिन डीको कमीका कारण शरीर दुख्ने, थकान, मांसपेशी कमजोर हुनेलगायत समस्या लिएर बिरामी आउने क्रम बढ्दो रहेको उहाँले जानकारी दिनुभयो ।
भिटामिन डीको प्रमुख स्रोत घाम र खानपान हुन् । मासु, अण्डा तथा दुग्धजन्य पदार्थबाट केही मात्रामा भिटामिन डी प्राप्त भए पनि अन्य खाद्यवस्तुबाट पर्याप्त मात्रा पाउन कठिन हुने डा. सापकोटाले बताउनुभयो ।
“जसरी नूनमा आयोडिन मिसाइन्छ, त्यसैगरी तेल, घ्यू वा खानामा भिटामिन डी फोर्टिफाइ गरेर सेवन गर्न सकिन्छ, तर नेपालमा यसको प्रयोग अझै न्यून छ,” उहाँले भन्नुभयो ।
भिटामिन डीका लागि बिहान १० देखि ११ बजे र दिउँसो ३ बजेसम्मको घाम प्रभावकारी हुने बताउँदै उहाँले सो समयमा १०–३० मिनेटसम्म छालामा प्रत्यक्ष घाम लाग्नुपर्ने सुझाव दिनुभयो । घाम ताप्दा सनस्क्रिन तथा छाला पूरै ढाक्ने कपडा नलगाउन पनि उहाँले आग्रह गर्नुभयो । जाडो मौसममा घाम कम लाग्ने भएकाले यस्तो अवस्थामा खानपान वा सप्लिमेन्टमार्फत यसको पूर्ति गर्नुपर्ने उहाँको भनाइ छ ।
भिटामिन डीले शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला तथा रोग प्रतिरोधात्मक प्रणाली मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । पर्याप्त भिटामिन डी भए क्यान्सर र सङ्क्रमणको जोखिमसमेत कम हुने चिकित्सकहरूको भनाइ छ ।
यसको कमीले शरीर दुख्ने, हड्डी कमजोर भई भाँचिने, थकान महसुस हुने, बच्चामा उचाइ नबढ्ने र खुट्टा बाङ्गो हुनेजस्ता समस्या देखिन सक्ने डा. सापकोटाले बताउनुभयो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया