ललितपुर – चिकित्सकलाई कारबाही गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयमा उच्च अदालत पाटनले रोक लगाएको छ । उपचारसम्बन्धी गलत कागजात बनाएको अभियोगमा दोषी ठहर भएकी डा। यशोदा रिजाललाई दुई महिनाका लागि निलम्बन गर्ने काउन्सिलको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरकालीन आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएलगत्तै पुस २४ गते बसेको मेडिकल काउन्सिलको बैठकले डा रिजाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको थियो । तर उक्त फैसलाविरुद्ध पुनरावेदनको अवधि बाँकी रहेकाले निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र दीपक खनालको संयुक्त इजलासले आदेश जारी गरेको हो ।
यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ। अभियुक्त दिवाकर रिजालले घटना भएको समयमा अस्पतालमा उपचाररत रहेको देखाउन पेश गरेको कागजात डा। यशोदा रिजालले तयार पारेको भन्दै अदालतले झुटो विवरण भएको ठहर गरेको थियो । उनी खरानीटार अस्पतालकी प्रमुख तथा दिवाकर रिजालकी छोरी हुन् ।
मुद्दा विचाराधीन रहँदै डा। रिजालले नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिई अमेरिका गएको भन्दै पीडित पक्षले आपत्ति जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया