२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ११
|
1.2k views

ललितपुर । आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो । यसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिएका छन् । उनले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् । “परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो”, उपराष्ट्रपतिले भने ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपतिले युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्धमात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्ने स्पष्ट पार्नुभएको छ ।

ज्येष्ठ नागरिकको विचारलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्नु, डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता भएको उपराष्ट्रपतिको कथन छ । उनले यसैबाट पुस्ताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
“हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दियो’ मानेको छ । आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु पारिवारिक र सामाजिक मूल्यको पतन हो । संस्कृति र आधुनिकताको समन्वय गर्दै उहाँहरूको गरिमा पुनःस्थापित गर्नु हाम्रो साझा दायित्व बन्न सक्नुपर्दछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

उपराष्ट्रपतिले भनेका छन्, “वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष हो । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद् बनाउन सबैमा हार्दिक अनुरोध गर्दै उहाँहरूको सुस्वास्थ्य र सुखमय जीवनको लागि हार्दिक मङ्गलमय कामना व्यक्त गर्दछु ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया