
ललितपुर । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि र युवापुस्ताको भावनाको सम्मानका लागि नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने विषय उठाएका छन् । बैठकमा महामन्त्रीद्वयले तत्काल नेतृत्व परिवर्तन गरी युवापुस्ताको आवाज सुनवाइ नगर्ने हो भने पार्टीको भविष्य नै जोखिममा पर्ने चेतावनी दिएका थिए ।
कांग्रेसले सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था, राजनीतिक परिस्थिति हेरेर चाँडै केन्द्रीय समितिको बैठक बसी बृहत्तर छलफल गरेर निर्णय गरी अघि बढ्ने तयारी गरेको छ । बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेबारे पनि छलफल भएको थियो । बैठकले जेनजी आन्दोलनमा घुसपैठ भएको निष्कर्ष पनि निकालेको छ । बैठकले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गर्ने घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलें संसद् पुनस्र्थापनाको मागलाई प्रमुख मुद्दा बनाएर जानुपर्ने धारणा राखेका थिए । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने निर्णय पनि गरेको छ ।
यता जेनजी आन्दोलनमा आक्रमण हुँदा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको टाउकोको पछिल्लो भागमा चोट लागेको पाइएको छ । गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको र सैनिक अस्पतालमा उपचार भइरहेको कांग्रेसले जनाएको छ । अझै केही दिन देउवा डाक्टरको प्रत्यक्ष निगरानीमै रहने भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया