ललितपुर । गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गते भएको आन्दोलनमा भएको आगजनी तथा तोडफोडमा भएको क्षतिबापत् करिव डेढ महिनाको अवधिमा बीमा कम्पनीले पौने ३ अर्ब रुपैयाँ अग्रीम भुक्तानी दिएका छन् । आन्दोलनका कारण २३ अर्ब बराबरको बीमा दाबी परेको छ ।
कात्तिक ९ गतेसम्मको तत्थांक अनुसार बीमा प्राधिकरणमा १४ वटा निर्जीवन बीमा र ४ वटा लघु बीमा कम्पनीमार्फत २३ अर्ब २३ करोड ३७ लाख २५ हजार रुपैयाँको बीमा दाबी परेको छ । दाबी पश्चात् बीमा प्राधिकरणले बिमितलाई दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएका थिए । सो पश्चात् बीमा कम्पनीहरुले अहिलेसम्म २ अर्ब ७९ करोड ७४ लाख ४७ हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका हुन ।
बीमा प्रधिकरणको तथ्यांक अनुसार १५ बीमा कम्पनीले मात्रै सो रकम बराबरको भुक्तानी दिएको हो। सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १ सय ८७ वटा आवेदनबाट २३ अर्ब २३ करोडको बीमा दाबी परेको थियो ।
राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले भने कुनै पनि दाबीको भुक्तानी गरेका छैनन् । सबैभन्दा धेरै माग दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २८ करोड रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । कम्पनीमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबर माग दाबी परेको छ । दी ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड बराबर दाबी पर्दा अग्रिम भुक्तानी भने एक करोड ६६ लाख मात्रै गरेको प्राधिकरणले जनाएको छ । दी ओरियन्टलमा अन्तर्राष्ट्रिय चेन हिल्टन होटलको बीमा दाबी परेको थियो ।
यस्तै, सिद्धार्थ प्रिमियम र दी ओरिन्टलपछि आईजीआई प्रुडेन्सियल र शिखर इन्स्योरेन्समा २ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेकोमा आईजीआईले ३१ करोर्ड ४१ लाख रुपैयाँ र शिखरले ५८ करोड ३२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । ९७ कराड १४ लाख रुपैयाँ बीमा दाबी परेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने अहिलेसम्म २५ करोड साढे ६० लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको छ ।
जेनजी आन्दोलनमा क्षति भएका सम्पत्ति मध्ये बीमा भएका ६ सय ७३ सम्पत्ति बीमा आवेदनबाट १९ अर्ब १ करोड ९३ लाख रुपैयाँ, २ हजार २ सय ७० मोटर बीमाबाट ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ, १ सय ९२ इन्जिनियरिङ तथा ठेकेदार बीमाबाट ३६ करोड ७९ लाख रुपैयाँ, १२ वटा परिवहन बीमा आवेदनबाट १ करोड ६६ लाख रुपैयाँ र अन्य बीमा ४० वटाबाट ३८ करोड ७१ लाख रुपैयाँ गरी कुल ३ हजार १ सय ८७ वटा आवेदनबाट २३ अर्ब २३ करोड रुपैयाँ माग दाबी परेको हो । माग दाबी परेको रकम अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमाको छ । यो शीर्षकमा १९ अर्ब एक करोड बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशबाट मात्र कुल १७ अर्ब ६१ करोड रुपैयाँ बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया