ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिएका हुन् ।
आजको बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने अर्को महत्वपूर्ण निर्णय समेत गरेको छ ।
यस्तै, बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२, स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको छ ।
त्यसैगरी, सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गरेको छ । यस्तै समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया