२०८२ फाल्गुन ६ | Feb 18, 2026

निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ, निर्वाचन हुन्न भन्ने भ्रम नर्छनोस् : मन्त्री अर्याल

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १६
|
1.1k views

ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचन निर्धारित समयमै हुने कुरामा वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन हुन सक्दैन भन्ने शंका र भ्रम आम नागरिकमा नछर्न आग्रह गरेका छन्।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा आज (मंगलबार) सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटनका क्रममा मन्त्री अर्यालले यस्ता बताएका हुन् । उनले यो सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयार रहेको उल्लेख गरे ।

मन्त्री अर्यालले भने, ‘कुनै पनि बहाना र शंकामा निर्वाचन नहुनु पर्ने कारण नै छैन। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ।’ उनले त्यसका लागि सम्पूर्ण शान्ति सुरक्षाको अवस्था तत् अनुरूप मजबुद गरिंदै लागिएको जानकारी दिए। मन्त्री अर्यालले हाल देशभर ४,५५२ कैद बन्दी फरार रहेको र ती मध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको र कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको जानकारी गराए।

यस्तै, मन्त्री अर्यालले अहिलेको सरकारको प्रमुख दायित्व विधिको शासन, हस्तक्षेप मुखी प्रशासन र भ्रष्टाचार शून्य सहनशीलता अन्त्य नै रहेको उल्लेख गरे। ‘कुशासन र वेथितिकाविरुद्ध जेन(जी युवाहरूले उठाएका माग र भाद्र २३ र २४ गतेको घटना पश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठा पूर्वक कार्य गरिरहेका छौँ,’ मन्त्री अर्यालले भने। मन्त्री अर्यालले भने, ‘भाद्र २३ र २४ गतेको घटना पश्चात् सुरक्षा संयन्त्रहरूको कार्यसम्पादन दैनिक प्रशासनिक कार्यमा समेत असर परेको थियो। भौतिक पूर्वाधार, सवारी साधनमा क्षति पुगेको कारण नियमित कार्यहरूमा समेत प्रभाव परेकोमा अब हामी लयमा फर्केका छौँ र सुरक्षाको अवस्था पनि सामान्य बनेको छ। सबैको प्रयास,सहयोग र रचनात्मक सुझावको लागि धन्यवाद दिन चाहन्छु।’

सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘हामी कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुन्छौँ, सुनेका छौँ र सुनिरहन्छौं। यो सरकार सबैको साझा भएको हुँदा सबैका भावनालाई समेट्दै चुनावमा होमिसकेको अवस्था हो। लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य छ।’ मन्त्री अर्यालका अनुसार चुनावको तयारीका सन्दर्भमा केही चुनौतीहरू बाहिर आएका छन्। ती चुनौतीहरू कतिपय मनोवैज्ञानिक पनि छन्। सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेकोस हत्या हिंसाको पक्षमा नरहेकोस अराजकतालाई नियन्त्रण गर्न प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रहरूलाई परिचालन गरिरहेको हुँदा यी मनोवैज्ञानिक सुरक्षाका चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दछु।

सबै राजनीतिक दल, नागरिकहरूमा आह्वान गर्दै मन्त्री अर्यालले भने, ‘देश बनाउने अभिभारा सबैको हो प्रत्येक नागरिक यो राज्यका सदस्य हुन्। जसका लागि सरोकारवालासँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया