२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाल टेलिकमले ल्यायो ‘वाइफाई ६’ प्रविधि

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ९
|
1.7k views

ललितपुर । नेपाल टेलिकमले आफ्नो फाइबर टु द होम (एफटीटीएच) सेवालाई थप गुणस्तरीय र तीव्र बनाउन अत्याधुनिक वाइफाई ६ प्रविधि सार्वजनिक गरेको छ। ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न टेलिकमले नयाँ राउटर (सीपीई) र पहिलो पटक एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउन लागेको हो। 

अब वाइफाई ६ प्याकेज अन्तर्गत ग्राहकले न्यूनतम १०० एमबीपीएस क्षमताको इन्टरनेट प्राप्त गर्नेछन्। टेलिकमले यसअघि वाइफाई ५ प्रविधि उपलब्ध गराउँदै आएकोमा अब नयाँ पुस्ताको वाइफाई ६ उपकरण प्रदान गर्नेछ। 

यसबाट घरका विभिन्न स्थानमा सिग्नल नपुग्ने समस्या समाधान हुनुका साथै इन्टरनेटको गति पनि स्थिर र तीव्र हुनेछ। यो प्रविधिले धेरै डिभाइसहरू एकैसाथ जोड्न, छिटो डाटा ट्रान्सफर गर्न र डिभाइसको ब्याट्री लाइफ बढाउन मद्दत गर्नेछ। साथै, यसले इन्टरनेट सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने टेलिकमको दाबी छ।

टेलिकमले यस प्रविधि अन्तर्गत इन्डिभिजुअल र प्रिमियम गरी दुई प्रकारका प्याकेजहरू ल्याएको छ। इन्डिभिजुअल प्याकेजमा इन्टरनेट, टेलिफोन र एनटीटीभी (बेसिक वा प्रिमियम) को सुविधा रोज्न सकिनेछ। त्यस्तै, प्रिमियम प्याकेजमा उच्च गतिको इन्टरनेटका साथै टिभीका विभिन्न विकल्पहरू उपलब्ध छन्। यी सबै प्याकेजहरू १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् र यसमा मोबाइल डाटा समेत समावेश गरिएको छ।

नयाँ प्रविधिका उपकरण र प्याकेजको दररेटबारे विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट वा आधिकारिक एपबाट प्राप्त गर्न सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन्। थप जानकारीका लागि ग्राहकले १९८ मा कल गरेर वा नजिकैको टेलिकम कार्यालयमा सम्पर्क राख्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया