ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसीर २७ गते राजधानीमा आफ्नो पार्टीले विशाल जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे ।
आज (सोमबार) प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले आगामी मंसीर २७ गते इतिहासकै ठूलो जनसभा गर्न लागेको जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने कुरा सावित गर्ने हिसाबले जनसभा गर्न लागेका छौं, ।’
एमालेको यसअघि बसेको सचिवालय बैठकले देशभरका विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय गरेको थियो । सोही अनुरुप नेकपा एमालेले यही कात्तिक २२ गते देशैभरीका सबै वडामा वडास्तरी जनभेला, २५ गते पालिकामा जनर्याली, २९ गते जिल्लामा जनसभा र मंसीर ६ गते उपत्यकास्तरीय र्याली तथा सभाको आयोजना गर्ने जानकारी गराइसकेको छ ।
मंसीर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्दैछौं । हामी देखाउन चाहन्छौं, जनता कसको साथमा छ । जनता कहिले पनि हिंसा, अराजकता र लुटपाटको साथमा हुन सक्दैन’, उनले भने ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया