२०८२ फाल्गुन ६ | Feb 18, 2026

महानगरको एक्सन सुरु, आजबाट काठमाडौंका सुकुम्बासी बस्ती हटाइने

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
1.8k views

ललितपुर । काठमाडौं महानगरपालिकाले आजदेखि सुकुम्बासी बस्ती हटाउन काम अगाडि बढाउने भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले आजदेखि धोबीखोला कोरिडोर लगायत उपत्यकाको नदी किनारा वरिपरि अतिक्रमित जग्गा खाली गर्न सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णय गरेको हो ।

महानगरपालिका र प्राधिकरणले सात दिनको म्याद राखेर कात्तिक १४ गते अतिक्रमित जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेका थिए। उक्त म्याद शुक्रबार नै सकिएको छ । कात्तिक १४ गतेको सूचनामा उल्लिखित सात दिने म्याद सकिएपछि आइतबारदेखि अतिक्रमित जग्गा खाली गराउन महामनगरपालिका एक्सनमा उत्रने जानकारी महानगरका पदाधिकारीहरूले दिएका छन्।

उक्त सूचनामा ‘अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नेरहटाउने निर्णय भएको जानकारी गराइन्छ’, गत कात्तिक १४ गते महानगर र प्राधिकरणले निकालेको संयुक्त सूचनामा भएिको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ को दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए गरेका कार्यहरू सात दिनभित्र हटाइ सहयोग गरिदिनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ’ उल्लेख थियो ।

साथै सूचनामा सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी दिइएको थियो। गत असोज २ गते धोबीखोला कोरिडोरमा अतिक्रमित जग्गा खाली गर्ने विषयमा प्राधिकरण र महानगरबिच सहमति भएको थियो।

प्राधिकरणले यसअघि नै धोबिखोला कोरिडोर वरिपरि अतिक्रमित एक सय ६८ रोपनी ६ आना दुई पैसा दुई दाम सरकारी जग्गा अतिक्रमण भएको प्रारम्भिक प्रतिवेदन तयार गरिसकेको छ।

काठमाडौं उपत्यकामा २०२१, २०४२ र २०५६ सालमा नापी गरिएको थियो। त्यही बेला बिचौलियाहरूले नापीको टोलीमा खटिएका कर्मचारीलाई प्रभावमा पारेर ठाउँठाउँमा सरकारी तथा सार्वजनिक जग्गालाई व्यक्तिको नाममा लालपुर्जा समेत बाँडेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया