२०८२ फाल्गुन ६ | Feb 18, 2026

महालक्ष्मी विकास बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
969 views

ललितपुर । महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा सोमबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त सभाले बैंकको आर्थिक, व्यवस्थापकीय तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।

सभामा २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा बाँडफाँड, इक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरिएको छ । साथै सञ्चालक समितिको प्रस्तावअनुसार कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट अनुमोदन गरिएको छ ।

स्वीकृत प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश कर (प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ को अन्त्यमा समग्र वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको जनाएको छ । आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ ।

साधारण सभाले बैंकको नियमावली बमोजिम संस्थापक सेयरधनी समूह (क) बाट ३ जना र सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गरेको छ । संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरी र ग्रोइङ प्रालिका तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सुझावलाई आत्मसात गर्दै बैंकका गतिविधिहरूलाई थप परिमार्जन र विशिष्टीकरण गरी ग्राहक सन्तुष्टि, लगानीको उचित प्रतिफल तथा गुणस्तरीय वित्तीय सेवा प्रवाहमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सेयरधनी तथा सम्पूर्ण सरोकारवाला पक्षप्रति सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया