किड्जी सानेपाको आयोजनामा “No Health Without Mental Health” अर्थात मानसिक स्वास्थ्य बिना समग्र सुस्वास्थ्य सम्भव छैन भन्ने नारा एवं शीर्षक सहित मानसिक स्वास्थ्य प्रवर्द्धनका निमित्त एक दिने सेमिनार एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य समस्याले मनलाई मात्र होइन शरीर र सामाजिक अवस्थालाई समेत असर पार्दछ। मानसिक समस्या भएपछि डायबिटिज, मुटु सम्बन्धी रोग आदि जस्ता दीर्घकालीन शारीरिक रोगको जोखिम बढ्ने, जीवन आयु घट्ने तथा आर्थिक भार समेत बढ्ने अवस्थाको सिर्जना हुन्छ।
यस्तै यावत विषयमा पछिल्लो समय विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूलाई आधार बनाउँदै कार्यक्रमका मुख्य वक्ता साइकोथेरापिस्ट एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्ग जङ्ग पराक्रम शाह ले आफ्ना “नो हेल्थ विथाउट मेन्टल हेल्थ: अ कम्प्रिहेन्सिभ अन्डरस्ट्यान्डिङ अफ मेन्टल फिजिकल यान्ड साइकोसोस्यल वेलविइङ ” शीर्षकको सेमिनार पेपर प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा प्रत्यक्ष रूपमा आफ्ना समस्या साझा गर्न चाहनुहुनेहरूको समस्याका समाधानका लागि मनोपरामर्श मूलक सहायता समेत प्रदान गर्नुभएको थियो। विविध मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्दै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको सौहार्दपूर्ण उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो। पूर्व प्राथमिक विद्यालयहरूका संगठन “अपेन” का केन्द्रीय उपाध्यक्ष रिता घिमिरे तिमल्सिना ज्यू को विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने वरिष्ठ मनोविद् एवं अटिजम स्पेसलिस्ट भगवती भट्टराई ज्यू को समेत कार्यक्रममा उपस्थिति थियो।
कार्यक्रमकै सिलसिलामा अभिभावकहरूले सक्रिय सहभागिता जनाउनुहुँदै आफ्ना भावना समेत आदानप्रदान गर्नुभएको थियो भने सामूहिक रूपमा मनको गाँठो फुकाउने मौका प्राप्त हुँदा कार्यक्रमको माहोल निकै भावनात्मक एवं सहयोगी बनेको थियो। सोही क्रममा किड्जि प्रिस्कुलका संस्थापक एवं मनोपरामर्शदाता समेत रहेका मुना श्रेष्ठले आफ्ना अनुभवहरूसमेत व्यक्त गर्दै मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य बीचको अन्तरसम्बन्धलाई प्रस्ट्याएका थिए भने यस विषयमा जनचेतना फैलाउन सबै सामु आग्रह गरेका थिए गरेका थिए । सम्पूर्ण सहभागीहरूको गहिरो एवं सक्रिय सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको थियो भने मानसिक स्वास्थ्यप्रति यस कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास लिइएको छ। कार्यक्रम कार्तिक २८ गते ललितपुरको सानेपा स्थित किड्जी प्रीस्कुलमा सम्पन्न भएको थियो।


















फेसबुकबाट तपाईको प्रतिक्रिया