२०८२ फाल्गुन ६ | Feb 18, 2026

सालपा विकास बैंकको दोस्रो चरणको आईपीओ निष्काशन

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
1.6k views

ललितपुर । सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले यसअघि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । यसपटक भने बैंकले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट यसअघि बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये बैंकले प्रथम चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यसका साथै बैंकले ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट समेत गरिसकेको छ।

यसपटक भने बैंकले दोस्रो चरणमा २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।

उक्त आईपीओमा छिटोमा पुस २० गतेसम्म र ढिलोमा पुस ३० गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया