२०८२ फाल्गुन ६ | Feb 18, 2026

७८ वर्षको उमेरमा नागरिकता पाएपछि कपलेश्वरीको भावुक अभिव्यक्ति– ‘अब ढुक्कले मर्छु’

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
1.1k views

ललितपुर । ७८ वर्षको उमेरमा नागरिकता पाएपछि सिरहाकी कपलेश्वरी यादव भावुक हुनुभएको छ। आठ वर्षसम्म वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउँदा–धाउँदा थाकिसक्नुभएकी यादवले बुधबार नागरिकताको प्रमाणपत्र हात पार्नुभयो। नागरिकता पाएपछि उहाँले आँसु झार्दै भन्नुभयो, “अब ढुक्कले मर्न पाउने भएँ ।

चाउरिएको अनुहार र थकित शरीर बोकेकी कपलेश्वरीका लागि नागरिकता केवल कागजको टुक्रा थिएन, यो आठ वर्ष लामो अपमान, संघर्ष र पीडापछिको पहिचान थियो। स्थानीयवासीहरूले “अब यो उमेरमा नागरिकता बनाएर के गर्नुरु” भनेर प्रश्न गर्दा पनि उहाँ ‘अनागरिक’ भएर मर्न चाहनुहुन्नथ्यो ।

औरही गाउँपालिका–३ पिपरामा जन्मिनुभएकी कपलेश्वरी २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवकी कान्छी श्रीमतीका रूपमा विवाह भएर गएकी थिइन् । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन्। २०३१ सालमा श्रीमान्को निधन भएपछि उहाँ एक्लिनुभयो र सहाराविहीन बन्नुभयो ।

श्रीमान्को निधनपछि अंशको हकका लागि अदालतमा मुद्दा लडेर जित्नुभयो। साढे ११ धुर जग्गा पनि प्राप्त गर्नुभयो। माइतीबाट पाएको छ कट्ठा जग्गा पनि उहाँकै नाममा थियो। तर यति धेरै प्रमाण र अदालती फैसलाका बाबजुद पनि नागरिकताको मूल ढोकामै उहाँ वर्षौं रोकिनुभयो।

नागरिकता नहुँदा न त जग्गा बेचबिखन गर्न पाउनुभयो, न त बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न सक्नुभयो। सरकारले दिने वृद्ध भत्ता पाउन पनि नागरिकता अनिवार्य भएपछि उहाँको पीडा झनै बढ्यो। पटक–पटक वडा कार्यालय धाउँदा पनि सिफारिस नपाउँदा उहाँ धेरैपटक रोएर फर्किनुभयो ।

गाउँकै जनप्रतिनिधिका कारण नागरिकता प्रक्रियामा तगारो लागेको परिवारको भनाइ छ। उहाँमाथि ‘स्थानीय बासिन्दा नभएको’ आरोप लगाउँदै झुटा मुद्दासमेत हालिएको थियो। “आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा शब्दमा भन्न सकिँदैन,” उहाँका नाति रामपरीक्षण यादवले ती दिन सम्झनुभयो ।

सञ्चारमाध्यममा कपलेश्वरीको संघर्ष सार्वजनिक भएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवको पहलमा प्रशासनिक प्रक्रिया अगाडि बढ्यो। आठ वर्षपछि मात्रै जिल्ला प्रशासन कार्यालय सिरहाले उहाँलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्‍यो ।

नाति रामपरीक्षण यादवले खुशी व्यक्त गर्दै भन्नुभयो, “हजुरआमाले यो उमेरमा न्याय पाउनुभयो, यही नै हाम्रो परिवारको ठूलो जित हो। नागरिकता नहुँदा उहाँ जग्गाको उपभोग र वृद्ध भत्ताबाट वञ्चित हुनुभएको थियो ।

नागरिकताको प्रमाणपत्र सुम्सुम्याउँदै कपलेश्वरी भावुक हुँदै भन्नुभयो, “छोराछोरी छैनन्, सहारा दिने कोही थिएन। अब सरकारले दिने भत्ताले औषधोपचार र खाने खर्च टार्न सकिन्छ । कम्तीमा आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ ।

७८ वर्षको उमेरमा पाएको नागरिकताले कपलेश्वरीलाई आर्थिक राहत मात्र होइन, राज्यबाट मान्यता र सम्मानको अनुभूति पनि दिएको छ। तर उहाँको आठ वर्षको पीडाले राज्य संयन्त्रप्रति गम्भीर प्रश्न पनि खडा गरेको छ-सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि नागरिकले आफ्नो पहिचान पाउन किन यति लामो समय कुर्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया