एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २५
|
204 views

ललितपुर - सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिनुभएको हो।

प्रधानमन्त्री अल्बानिजका अनुसार प्रस्तावित कानुनी व्यवस्थाअन्तर्गत एआई क्षेत्रको नियमन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गरिनेछ। उक्त निकायले अस्ट्रेलियामा सञ्चालन हुने सबै अग्रणी एआई कम्पनीहरूले निर्धारित सुरक्षा तथा साइबर सुरक्षासम्बन्धी मापदण्ड पालना गरे–नगरेको अनुगमन गर्नेछ।

    नयाँ व्यवस्थाअनुसार एआई कम्पनीहरूले आफ्ना मोडेलको स्वतन्त्र मूल्याङ्कन गराउनुपर्नेछ। साथै, एआई प्रणालीको विकासदेखि प्रयोगमा ल्याउने चरणसम्म आवश्यक सुरक्षा नियन्त्रण कायम गर्नुपर्नेछ। कुनै पनि सुरक्षा जोखिम वा साइबर सुरक्षा घटना देखिएमा त्यसबारे तत्काल सरकारलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिनेछ।

      निर्धारित मापदण्ड पालना नगर्ने कम्पनीहरूमाथि नियामक निकायले उल्लेखनीय आर्थिक जरिवानासहित आवश्यक कानुनी कारबाही गर्न सक्ने व्यवस्था गरिनेछ।

      प्रधानमन्त्री अल्बानिजले एआई प्रविधिले अस्ट्रेलिया तथा विश्वका लागि दीर्घकालीन अवसर सिर्जना गर्न सक्ने उल्लेख गर्दै यसको विकास र प्रयोगलाई जिम्मेवार ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube