
ललितपुर । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सरकारले नियो बैंक स्थापना र यसका लागि लाइसेन्स वितरण गर्ने घोषणा गरेसँगै सबैमा यसप्रति चासो बढ्न थालेको छ । के हो नियो बैंक ? यसले विशेषता के कस्ता छन् ? अब परम्परागत बैंकहरुको ठाउँ नियो बैंकले लिन सक्ला त भन्ने प्रश्नहरु आम नागरिकमा उठ्न थालेका छन् ।
सरकारले ल्याउन लागेको नियो बैंक भनेको पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आधारित बैंक हो, यसका कुनै भौतिक शाखाहरू हुँदैनन्। नियो बैंकहरूले परम्परागत बैंकहरूले (जस्तो कि अहिले सञ्चालित बाणिज्य बैंक, विकास बैंक) जस्तै वित्तीय सेवाहरू प्रदान त गर्छ नै। तर यिनीहरुले दिने सुविधा अब मोबाइल एप र वेबसाइटमार्फत मात्र हुनेछन् ।
ग्राहकहरूले विभिन्न वित्तीय कारोबारका लागि जस्तो कि बैंक खाता खोल्ने, पैसा ट्रान्सफर गर्ने, बिल भुक्तानी गर्ने, कर्जा लिने लगायतका जति पनि बैंकिङ कामहरु छन् ती सबै काम अनलाइ मार्फत् नै हुन्छ । यस्ता कामका लागि अब कुन बैंकको शाखा कहाँ छ भन्दै खोज्दै हिंड्नु पर्ने झन्झन नियो बैंकबाट कारोबार गर्दा हुँदैन । अहिले सञ्चालन भइरहेका केही बैंकहरुले भने आफूलाई डिजिटल बैंकमा रुपान्तरण गर्नका लागि पूर्वाधारमा लगानीसमेत गरिरहेका छन्।
परम्परागत बैंकहरूले भौतिक शाखाहरूसँगै डिजिटल सेवा प्रदान गर्छन् भने नियो बैंकहरू पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आधारित हुन्छन्। नियो बैंक र परम्परागत बैंकहरूले प्रदान गर्ने डिजिटल बैंकिङ सुविधाबीचको भिन्नता अझै स्पष्ट भने देखिएको छैन । नियो बैंकहरूले सञ्चालन खर्च कम हुने भएकाले कम शुल्क लिन्छन्, प्रयोगकर्ता–मैत्री इन्टरफेस प्रदान गर्छन् र कृत्रिम बुद्धिमत्ता (एआइ) तथा डाटा एनालिटिक्सको प्रयोग गरेर व्यक्तिगत वित्तीय सल्लाह दिन्छन् भन्ने मान्यता राखिन्छ । तर यिनीहरूले सीमित सेवाहरू मात्र प्रदान गर्छन् र भौतिक शाखा नहुँदा नगद व्यवस्थापनमा समस्या हुने गरेको विश्वमा खुलेका केही बैंकको उदाहरणबाट देखिन्छ।
नेपालको कुनल जनसंख्याको ६० प्रतिशत मात्र बैंकिङ पहुँचमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अझै पनि ४० प्रतिशत जनता बैंकिङ पहुँचबाट बाहिर छन् । नियो बैंकहरूले यो अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया