कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने गरेको हो ।
क्यान्सर रोग लागेका कैदीबन्दीको उपचारका लागि मुख्य रूपमा चितवन रोजाइ हुने गरेको भए पनि अहिले अन्य रोगका बिरामीको समेत रोजाइमा यस कार्यालय पर्ने गरेको हो । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघिमात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र यसपछि चितवन हुने गरेको छ ।
चितवन मध्यभागमा पर्ने भएकाले पनि यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई समेत सहज हुने भएकाले यहाँ आउने गरेका हुन् । उहाँका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् । उनीहरूलाई विभिन्न प्रकारका रोग लागेको छ । उच्च रक्तचापका ५४ बिरामी छन् । यस्तै मधुमेहका ३०, मानसिक रोगी १२, हेपाटाइटिस बी भएका पाँच, मुटुरोग, क्षयरोग, क्यान्सर, एचआइभी एड्स, छारेरोग लागेका तीन–तीन र थाइराइडका दुई जना बिरामी रहेका छन् ।
उहाँले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधि खरिद गर्न पनि समस्या हुने गरेको बताउनुभयो । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधोपचार खर्चबापत रु १२ लाख विनियोजन भएको थियो । सरकारले विनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीसँग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन् ।
एक जना आश्रित बालक रहेको उहाँले बताउनुभयो । अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन् । यस कारागारको क्षमता ५०५ जनाको हो । यसमा ३० महिला र ४६५ पुरुष रहेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा भागेका ११० कैदीबन्दी अझै फर्कन बाँकी छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया