पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १४
|
153 views

ललितपुर - नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले उक्त धारणा राख्नुभएको हो ।

‘भट्टले नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन बोर्ड कटिबद्ध भई निरन्तर लागिपरेको छ’, भन्नुभयो ।

धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र सङ्घसंस्थासँग निरन्तर छलफल भइरहेको उहाँले बैठकमा जानकारी दिनुभयो ।

उहाँले आज सरोकारवाला तथा सांसदले उठाउनुभएका जिज्ञासको उत्तर दिँदै पुँजीबजारलाई नीतिगत तथा कानुनी सुधार गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको छ भन्नुभयो । भट्टले नयाँ कम्पनीको प्राथामिक सेयर जारी गर्दा अपनाउनुपर्ने विभिन्न चेकलिष्टलगायत धेरै विषय समावेश गरेर नीतिगत सुधार गर्न लागेका बैठमा जानकारी गराउनुभयो ।

अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले अर्थमन्त्रालयले पुँजीबजारलाई व्यवस्थित गराउनको लागि २१ बुँदे कार्ययोजनाले व्यवस्थित गर्ने बताउनुभयो ।

सांसद पर्शुराम तामाङले सरकारले अर्थतन्त्रसँगसँगै पुँजीबजारलाई पनि चलायमान गराउनुपर्ने बताउनुभयो ।

सांसद सुशील खड्काले पुँजीबजार लगानीकर्ता सङ्घसंस्थाको सङ्ख्या मात्रै धेरै भएकाले पुँजीबजारको वास्तविक समस्या उजागर हुन नसकेको बताउनुभयो ।

      नेपाल सेयर बजार लगानीकर्ता सङ्घका अध्यक्ष हरिबहादुर केसीले धितोपत्र बोर्डसँगसम्बन्धी ऐन र नियमावली समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।

      सेयरलगानीकर्ता अजयकुमार श्रेष्ठले सेयरबजारमा आफैँ स्टक ब्रोकर र आफैँ लगानीकर्ता हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

      नेपाल सेयर बजार लगानी सङ्घका महासचिव खगेन्द्रराज कँडेलले विश्वपुँजी बजारले अपनाएका रणनीति योजनामुताविक नेपाली सेयर बजारलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।

      सिडिएस एण्ड क्लियरिङ लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले सूचना प्रविधिको प्रयोग गरेर व्यवस्थित गर्न खोजेको बताउनुभयो ।

      नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले पछिल्ला समय नेप्सेका देखिएका प्राविधिक समस्या सल्टाउने प्रयास भएको बताउनुभयो ।

      स्टक ब्रोकर एशोसिएसन अफ नेपालका नितेशकुमार अग्रवालले प्रथामिक सेयरमा १० कित्ताको प्रावधानलाई पनि समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube