ललितपुर । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगसँग छलफल गरेको छ । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेर थापा समूहका नेताहरूले छलफल गरेका हुन् । थापा समूहले बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो। उनीहरुले आफूहरूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन् ।
शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहले पुस ३० गते विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक तरिकाले सम्पन्न भएको दाबी गरेको छ। शेरबहादुर देउवा समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेपछि प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा २६ सय ५२ प्रतिनिधि उपस्थित भएको जानकारी गराएका छन्। महाधिवेशन सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षरले विशेष महाधिवेशनको वैधानिकता निर्णय प्रक्रिया वा निर्णयहरूको वैधता मा कुनै प्रभाव नपार्ने उनीहरूको दाबी छ।
यता नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्। पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिदै उनले चुनाव चिह्न र नाम गगन समूहलाई दिए आन्दोलनमा जाने चेतावनी दिए।



















फेसबुकबाट तपाईको प्रतिक्रिया