२०८२ फाल्गुन ६ | Feb 18, 2026

साताको पहिलो दिन नेप्से ओरालो,कारोबार ८.९९ अर्बमा सीमित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १८
|
714 views

ललितपुर – साताको पहिलो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.३३ अंकले घट्दै २७९१.७१ विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा बजारमा दबाब देखिएको हो ।

आजको कारोबार अवधिभर कुल ३२९ कम्पनीका २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर खरिद–बिक्री भएका छन् । यस क्रममा कुल सेयर कारोबार रकम ८ अर्ब ९९ करोड २६ लाख रुपैयाँ पुगेको छ, जसले बजारमा लगानीकर्ताको सहभागिता भने सक्रिय नै रहेको संकेत गर्दछ ।

कारोबार भएका कम्पनीमध्ये ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१० कम्पनीको मूल्य घटेको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । यसले समग्र बजारमा बिक्री दबाब हावी भएको देखाउँछब।

कारोबार रकमका आधारमा अंखु खोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको मात्रै ५३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि दोस्रो स्थानमा एसवाई प्यानल रहेको छ, जसको ५२ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ३८ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मूल्य वृद्धितर्फ हेर्दा नबिल ग्रोथ फन्डका इकाईधनीले सबैभन्दा धेरै फाइदा उठाएका छन् । उक्त फन्डको मूल्य ६.५१ प्रतिशतले बढेको छ। यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले पनि ६.०७ प्रतिशतको वृद्धिदर हासिल गरेका छन् ।

विपरीततर्फ कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा बढी घाटा व्यहोरेका छन् । बैंकको सेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।

समग्रमा आजको कारोबारले सेयर बजारमा सुधारभन्दा करेक्सनको अवस्था देखिएको संकेत गरेको छ। लगानीकर्ताहरू आगामी दिनमा मौद्रिक नीति, तरलता अवस्था र बजार संकेतहरूलाई ध्यानमा राख्दै सतर्क देखिने सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया