ललितपुर – एनआईसी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखी कर्जा उपलब्ध गराउने ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढिरहेको बैंकले समयअनुसार ग्राहकको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले उक्त कर्जा योजना ल्याएको जनाएको छ ।
बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखी बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ ।
गोल्ड लोन योजनामार्फत सुनका गरगहना खरिद गर्नका लागि समेत कर्जा सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ। ग्राहकहरूले यो कर्जा तोकिएका विभिन्न शाखामार्फत प्राप्त गर्न सक्नेछन् ।
यसैबीच, ग्राहकलाई सहज रूपमा कर्जा सेवा प्रदान गर्न तथा कर्जासम्बन्धी सल्लाह, सुझाव, गुनासो र जिज्ञासाको छिटो समाधान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको जनाएको छ । एकद्वार प्रणालीमार्फत सञ्चालन हुने उक्त केन्द्रले प्रभावकारी सेवा दिने विश्वास बैंकले व्यक्त गरेको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया