ललितपुर निष्क्रिय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम उल्लेख्य रूपमा बढ्दा एनएमबि बैंक लिमिटेडको नाफामा गिरावट आएको छ। खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा सुधार देखिए पनि बढ्दो जोखिम व्यवस्थापन खर्चले समग्र नाफालाई दबाबमा पारेको हो। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ३५ लाख रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी भने उत्साहजनक रूपमा बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म ४ अर्ब २५ करोड ३३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १२.१८ प्रतिशतले वृद्धि भई ४ अर्ब ७७ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, फि तथा कमिसन आम्दानी २१.१८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ३० लाख रुपैयाँ पुगेको छ। यी सूचकहरूको प्रभावस्वरूप बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। तर, कर्जा नोक्सानी व्यवस्थामा बैंकले छुट्याएको रकम अघिल्लो वर्षको ३४ करोड ४८ लाख रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा घट्न पुगेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १८.०५ प्रतिशतले घट्दै २ अर्ब ५० करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।
नाफामा आएको गिरावटसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १० पैसा रहेको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २० रुपैयाँ ७८ पैसा थियो। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा कायम भएको छ भने मूल्य–आम्दानी अनुपात १३.९८ गुणा रहेको छ। छ महिनाको अवधिमा बैंकको वितरणयोग्य नाफा ४९ करोड ९६ लाख रुपैयाँ रहेको छ। ब्याज बक्यौताको कारण बैंकले ४० करोड ६१ लाख रुपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ।
हाल बैंकको सञ्चित नाफा ५६ करोड ४३ लाख रुपैयाँ छ। १९ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप संकलन पनि बढ्दो क्रममा छ। गत असार मसान्तमा २ खर्ब ८० अर्ब ९३ करोड रुपैयाँ रहेको निक्षेप पुस मसान्तसम्म २ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा प्रवाह २ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँबाट बढेर २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
जोखिम सूचकतर्फ हेर्दा बैंकको निष्क्रिय कर्जा अनुपात गत आवको दोस्रो त्रैमासमा रहेको ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ। प्राथमिक पुँजीकोष अनुपात ८.७९ प्रतिशत रहेको छ भने त्रैमासको औसत आधार दर ५.४८ प्रतिशत कायम भएको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया