२०८२ चैत्र १६ | Mar 30, 2026

नाबालिकामाथि यातनाको आरोपमा एमाले सांसद रेखा शर्मा पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १६
|
255 views

नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी रेखा शर्मा १४ वर्षीया नाबालिकालाई घरेलु कामदारका रूपमा राखी लामो समयसम्म शोषण र यातना दिएको आरोपमा पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार दाङकी समानुपातिक सांसद शर्मा काठमाडौंको धुम्बाराहीस्थित घरमा बस्दै आएकी थिइन् र त्यहीँ उनले बालिकालाई करिब ६ वर्षदेखि श्रमिकका रूपमा काममा लगाउने तथा दुर्व्यवहार गर्ने गरेको आरोप छ ।

यो विषयमा डेढ वर्षअघि नै काठमाडौं महानगरपालिकाले बालिकाको उद्धार गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो । उद्धारका क्रममा बालिकाले आफूलाई लाठी, पाइप र हातले कुटपिट गर्दै शारीरिक तथा मानसिक यातना दिइएको बताएकी थिइन् ।

उक्त जाहेरीपछि पक्राउ हुनसक्ने आशंकामा शर्माले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन्, जसमा अदालतले तत्कालका लागि पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

यस प्रकरणमा अनुसन्धान सुस्त भएको भन्दै त्यसबेला काठमाडौं महानगरपालिकाका प्रमुख रहेका हालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका थिए ।

अन्ततः आइतबार राति प्रहरीको अपराध अनुसन्धान टोलीले शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

कानुनअनुसार नाबालकलाई घरेलु श्रमिकका रूपमा राख्नु, जबरजस्ती काममा लगाउनु तथा यातना दिनु दण्डनीय अपराध हो, जसमा कैद र जरिवानाको व्यवस्था रहेको छ ।

लुम्बिनी प्रदेशसभाका अधिकारीहरूका अनुसार सांसद पक्राउ परेसँगै उनको पद निलम्बन हुने प्रक्रिया अघि बढ्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया