ललितपुर – मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि बिहुँ बयलडाँडासम्मको १३ किलोमिटर सडक खण्ड नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेपछि पुनः ठेक्का लगाउने प्रक्रिया अघि बढाइएको छ। दुई वर्षभित्र कालोपत्र सक्ने लक्ष्यसहित राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु गरिएको यो सडक बारम्बार म्याद थपिँदा पनि पूरा हुन सकेन ।
पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयका अनुसार पटक–पटक म्याद थप्दा समेत काम नसकिएपछि ठेक्का रद्द गरी पुनः ठेक्का आह्वानको अन्तिम मूल्याङ्कन चरणमा प्रक्रिया पुगेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण २०८२ पुस १७ गते ठेक्का तोडिएको र हालसम्मको कामको मूल्याङ्कन भइरहेको इन्जिनियर कल्पना मिश्रले जानकारी दिनुभयो ।
मिश्रका अनुसार निर्माण व्यवसायीले देखाएको करिब ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी रकम र क्षति पुगेका पूर्वाधारको मूल्याङ्कन गरिँदै छ। “ठेक्का रद्द गर्न लामो प्रशासनिक प्रक्रिया हुन्छ । अर्थ मन्त्रालयबाट स्वीकृति छिटो आएमा एक वर्षभित्र नयाँ ठेकेदारमार्फत काम अघि बढ्न सक्छ । उहाँले भन्नुभयो, मूल्याङ्कनपछि निर्माण व्यवसायीलाई दिन बाँकी रकम भुक्तानी गर्ने वा आयोजनाले असुल गर्नुपर्ने भए असुल गर्ने गरी हिसाब मिलान गरिन्छ ।
पहिलो ठेकेदारसँगको हिसाब टुङ्गिएपछि बाँकी काम हालको लागत मूल्यका आधारमा अनुमान गरेर अर्थ मन्त्रालयमा पठाइने र स्वीकृति पश्चात् नयाँ ठेक्का खुल्ने आयोजनाको भनाइ छ ।
बागलुङ–बिहुँ सडक खण्डको ठेक्का २०७३ साल माघ १४ गते भारत–सिद्धिसाइ कम्पनीसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरी ४३ करोड ६५ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। तर १३ किलोमिटरमध्ये करिब छ किलोमिटर मात्र कालोपत्र गरी काम अलपत्र पारिएपछि स्थानीयवासीको आन्दोलनसमेत भएपछि ठेक्का रद्द गरिएको हो । कालोपत्र गरिएको भागसमेत उप्किएर जीर्ण बनेको छ ।
दुई वर्षमा सक्नुपर्ने आयोजना नौ वर्ष बित्दा पनि सम्पन्न नभएपछि पाँचौँ पटक म्याद थप गर्दा समेत भौतिक प्रगति ८० प्रतिशतमा सीमित रहेपछि म्याद थप नगरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको छ । ठेकेदारले हालसम्म सडक स्तरोन्नति र कालोपत्रका नाममा ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको आयोजनाले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया