२०८२ फाल्गुन ६ | Feb 18, 2026

रगतले लेखिएको इतिहास, मर्मले बिर्सिएको सपना,शहीदको रगत, वर्तमानको प्रश्न ?

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १६
|
1.7k views

ललितपुर — नेपालको इतिहास बलिदानको गाथाले बनेको हो भनिन्छ, तर आज प्रश्न उठ्छ—के हामी त्यो इतिहासप्रति इमानदार छौँ ? देशको स्वतन्त्रता, प्रजातन्त्र र नागरिक अधिकारका लागि ज्यान अर्पण गर्ने शहीदहरूको नाममा दिवस त मनाइन्छ, तर उनीहरूले देखेको सपना कार्यान्वयनमा किन सधैँ असफल भइरहेका छौँ ?

अंग्रेज शासनविरुद्धको प्रारम्भिक प्रतिरोधदेखि राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, जनआन्दोलन–१ र २ हुँदै पछिल्लो जेनजी आन्दोलनसम्म आइपुग्दा सयौँ ज्ञात–अज्ञात शहीदले आफ्नो जीवन राष्ट्रका नाममा सुम्पिए। व्यवस्था फेरियो, सत्ता हस्तान्तरण भयो, संविधान बदलियो—तर आम नागरिकको पीडा, अन्याय र असमानता भने झन् गहिरिँदै गयो । यही हो त शहीदले खोजेको नेपाल ?

शहीदहरू परिवर्तनका लागि ज्यान दिए, सत्ताको सौदाबाजीका लागि होइन । तर आज शहीदको नाम भाषणमा प्रयोग हुन्छ, नारामा बेचिन्छ र राजनीतिक लाभका लागि दोहोर्याइन्छ । शहीद परिवार न्यायको प्रतीक्षामा छन्, तर राज्य संवेदनशील देखिँदैन। क्षतिपूर्ति र आश्वासनले मात्र बलिदानको मूल्य चुकिँदैन, न त फोटोमा माल्यार्पण गरेर दायित्व पूरा हुन्छ ।

शहीदहरू इतिहासका तस्बिर होइनन्, वर्तमानलाई प्रश्न गर्ने आवाज हुन्। उनीहरूको सपना सुशासन, उत्तरदायित्व, सामाजिक न्याय र समान अवसर थियो। तर आज भ्रष्टाचार मौलाएको छ, युवाहरू देश छोड्न बाध्य छन् र जनआवाजलाई आन्दोलन बाहेक अरू बाटो देखिँदैन। यदि परिवर्तन यतिमै सीमित रहने हो भने शहीदको रगतको अर्थ के रहन्छ ?

इतिहासले चेतावनी दिइरहेको छ-बलिदान बिर्सने सत्ता लामो समय टिक्दैन। शहीदलाई स्मरण गर्ने सबैभन्दा ठूलो सम्मान भनेको उनीहरूले चाहेको व्यवस्था स्थापित गर्नु हो, न कि उनीहरूको नाममा राजनीति गर्नु ।

अंग्रेजकालदेखि जेनजी आन्दोलनसम्म राष्ट्रका लागि ज्यान अर्पण गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली । तर श्रद्धाञ्जलीसँगै एउटा कठोर संकल्प पनि आवश्यक छ-शहीदको सपना अधुरो राख्ने कसैलाई छुट छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया