२०८२ फाल्गुन ६ | Feb 18, 2026

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिना र भतिजी ट्युलिप सिद्दिकलाई जेल सजाय

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
918 views

ललितपुर – बङ्गलादेशको एक अदालतले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँकी भतिजी तथा बेलायती सांसद ट्युलिप सिद्दिकलाई राजधानी नजिकैको सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचार मुद्दामा क्रमशः १० वर्ष र चार वर्षको जेल सजाय सुनाएको छ ।

विशेष न्यायाधीशको अदालत–४ का न्यायाधीश मोहम्मद रबिउल आलमले हसिनाकी अर्की भतिजी अजमिना सिद्दिक र भतिजा रादवान मुजीब सिद्दिकलाई पनि सात–सात वर्षको जेल सजाय सुनाउनुभएको छ । देशको आधिकारिक भ्रष्टाचार वाचडगले हसिनाले सरकारी अधिकारीहरूसँग मिलेर ढाका नजिकैको पूर्बाचल न्यु टाउन परियोजनामा आफू र आफ्ना परिवारका सदस्यका लागि सरकारी नियमअनुसार अयोग्य हुँदाहुँदै पनि अवैध रूपमा छ वटा प्लट सुरक्षित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा निर्वाचनको तयारी गरिरहेको बेला यो फैसला आएको हो । हसिनाको पूर्व सत्तारूढ अवामी लिग पार्टीलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

हसिना र ट्युलिप सिद्दिक दुवैलाई यसअघि पनि यस्तै मुद्दामा सजाय सुनाइएको थियो र दुवैले फैसलाको निन्दा गर्नुभएको छ । सिद्दिकले आफ्नी काकीको १५ वर्षे शासनकालमा सरकारबाट कुनै पनि जग्गा नलिएको दाबी गर्नुभएको छ, किनभने उहाँ बङ्गलादेशी नागरिक नभएको बताउनुभएको छ । तर अभियोजनकर्ताका अनुसार उहाँले आफ्नी काकीलाई आफ्नी आमा र दुई भाइबहिनीका लागि परियोजनामा जग्गा उपलब्ध गराउन प्रभाव पारेको आरोप लगाइएको छ, जुन सिद्दिकले अस्वीकार गर्नुभएको छ ।

शक्तिको दुरुपयोग गरेको आरोपमा हसिना यसअघि पनि परियोजनासँग सम्बन्धित अन्य चार भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेकी हुनुहुन्छ । ती मुद्दामा अदालतले उहाँलाई कुल २६ वर्षको जेल सजाय सुनाएको थियो भने उहाँका छोरा सजीब वाजेद र छोरी साइमा वाजेदलाई पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको थियो । हसिनाकी कान्छी बहिनी शेख रेहानालाई सात वर्षको जेल सजाय सुनाइएको थियो । उहाँहरू सबै हाल विदेशमा रहनुभएको छ । ट्युलिप सिद्दिक बेलायतमा बस्नुहुन्छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहपछि सत्ता बहिर्गमन हुँदै १५ वर्षे शासन अन्त्य भएपछि हसिना सन् २०२४ अगस्ट ५ देखि भारतमा निर्वासनमा रहनुभएको छ । विद्रोहका क्रममा सयौँ मानिसको ज्यान गएपछि उहाँलाई मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको छ । हसिनाले विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै मुद्दा प्रक्रियाको निन्दा गर्नुभएको छ । हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशले भारतसँग गरेको अनुरोधमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया